चौधरी सहित ५ उद्योग सिल, ढुवानी गर्ने सवारीसाधन बाहेक राजमार्ग पनि सिल

खवर पाटी (खोज खबरको अभियान)

नवलपुर : पूर्वी नवलपरासीको दुम्कौलीस्थित सिजी कम्पनीको चौधरी उद्योगग्रामसहित ५ वटा वडाहरु सिल गरिएको छ। रुपन्देही घर भई पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ मा माइती घर भएकी २४ वर्षीया महिलामा मंगलबार कोरोना पुष्टि भएसँगै उद्योगसहित नगरपालिकाको १ देखि ५ नं वडा सिल गरिएको हो। संक्रमित महिला ९ दिन माइत बसेर काठमाडौं गएलगत्तै उनलाई कोरोना पोजेटिभ देखिएको हो।

उद्योग सोही वडामा छ। संक्रमित महिलाको माइतीले उद्योग अगाडी किराना पसल सञ्चालन गर्दै आएका छन्। ‘उद्योगमा ४०/५० जना कर्मचारी छन्। तिमध्ये १०/१२ जनाले सोही किराना पसलबाट उद्योगभित्र सामान लैजाने गरेका रहेछन्। जोखिमलाई मध्यनजर गरेर उद्योग भित्रका कर्मचारीको आउजाउमा रोक लगाइएको हो’ प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने। वरपरका वडावासीहरुले निगरानी बढाउन भनेकाले ५ वटा वडाहरुको आउजाउमा पूर्ण रोक लगाएको उनले बताए। ‘राजमार्गमा ढुवानी गर्ने सवारीसाधन बाहेक ११ गतेसम्मका लागि मानिसको आउजाउमा रोक लगाइएको हो। सिल नै गरेको भनेर नबुझौ’ प्रजिअ घिमिरेले भने।

संक्रमितको सम्पर्कमा आएका १२ जनाको स्वाब संकलन गरेर पठाइएको छ। वरपरका स्थानीयको आरटीडी परीक्षण र उद्योगमा कार्यरत केही कर्मचारी र अन्य शंकास्पदहरुको पनि स्वाब निकाल्ने तयारी गरिएको घिमिरेले जानकारी दिए। उद्योग प्रशासनले पनि सूचना  ५ दिनका लागि उद्योग सिल गरेको जनाएको छ।

Facebook Comments Box