स्वदेश फर्कन चाहनेलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा सांसद विमला सुवेदीले इजरायलमा भएको आतङ्कवादी हमलापछि स्वेदश फर्कन चाहने दुई सय चवन्न जनालाई पहिलो खेपमा आज बिहान उद्धार गरिएकामा त्यसको स्वागत गर्दै स्वदेश फर्कन चाहनेलाई सबै नेपालीलाई ल्याउन सरकारसँग आग्रह गरे ।

सांसद रघुजी पन्तले इजरायलमा मारिएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै सम्पर्कविहीन भएका एक जनाको खोजी गर्न सरकारले कूटनीतिक सक्रियता  बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद मनिष झाले इजरायलबाट केही नेपालीलाई ल्याइएकामा त्यसको स्वागत गर्दै स्वदेश आउन चाहने सबैलाई ल्याउन सरकारसँग आग्रह गरे । सांसद रमा कोइराला पौडेलले इजरायलमा धेरै महिला सुसारे भएर गएकाले घर फर्कन चाहने उनीहरूलाई पनि फर्काउनुपर्नेमा जोड दिइन् ।

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले शिक्षकका समस्या, स्वास्थ्यकर्मीका समस्या सम्बोधन गर्न माग गर्दै कालोबजारी नियन्त्रणतर्फ पनि ध्यान दिन सरकारसँग आग्रह गरे ।

सांसद माधव सापकोटाले  खेतबारी बाँझै राख्दा उत्पादन घटेकाले खाद्यान्न उत्पादन वृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सांसदहरू मीना तामाङ, मुक्तकुमारी यादव, रामकुमार राई, रणेन्द्र बराली, रञ्जुकुकमारी झाले चाडपर्वका बेला बजार मूल्य  नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाइन् ।

सांसद रामकृष्ण यादवले धनुषा जिल्लामा हुलाकी सडकको अवस्था दयनीय भएकाले तत्काल उक्त सडकको मर्मतसम्भार थाल्न माग गरे ।

सांसद रामप्रकाश चौधरीले तराई-मधेसका प्रत्येक नगरपालिकामा  चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्न सरकारलाई सुझाए ।

नेपाली काङ्ग्रेसका रामहरि खतिवडाले डेंगी सङ्क्रमण रोक्न समयमै ठोस प्रयत्न नभए त्यसले भयावह रुप लिने भएकाले समयमै सचेत भएर नियन्त्रणका काममा लाग्नुपर्नेमा जोड दिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *