कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न मन लागेन : ओली

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारूढ नेपाली कांग्रेसले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गरेका हुन् । अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट गरेको कांग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर थियो ।

अध्यक्ष ओलीले कांग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूलठूला भ्यू टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले कांग्रेसको नीति एक तले घर मात्रै बनाउने हो ? भनि प्रश्न समेत गरे ।

यस्तै अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताए । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाइ थियो ।

उनले भने, ‘मान्छे मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानु परेको ? नगई नहुने त्यहाँ के पर्यो ? हुलमा गएर निहुँ खोजेर उत्तेजित बनाएर गोली चलाएर मान्छे मारिएको छ । यो सहज र सजिलो कुरा हो ?’

अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रियताको प्रश्न, मुलुकको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरूसँग मेलमिलाप गरेर अघि बढ्न चाहेको दोहोर्याए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *