काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले शनिबार काठमाडौंमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गरेका हुन । अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको यो पहिलो कृति हो । पुस्तक कृतिभित्र ११५ शीर्षकका गीत तथा कविता रहेका छन् । परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन् । मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रितीका शब्द उनिएका छन् ।
पुस्तक कृतिबारे कुलपति भुपाल राईले कवि कला सेरेङको कविताबाट उर्जा मिल्ने बताउनुभयो । उहाँले कला, साहित्यले देशमा परिवर्तन ल्याउनसक्ने बताए । उनले कविताले मानिसलाई रुवाउन र हसाउन सक्ने भएकोले साहित्यमा ठूलो शक्ति लुक्ने बताए । शक्तिको श्रोत हुने भन्दै अब्बल कविताले परिवर्तन ल्याउनसक्ने बताए ।
कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीत मार्फत पस्कन खोजेको बताइन । उनले आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै साहित्यलाई निरन्तरता दिदै जाने बताउनुभयो । कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको उनको भनाई छ । ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उनको भनाइ छ, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ ।’
कार्यक्रममा विनोद चोङबाङले संयोजन गरेको कृतिमा डा. दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेखेका छन् ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्य मार्फत मानिसका भोगाइ र बिम्बहरु प्रस्फुटन हुने बताए ।
प्राडा नृसिंह कुमार खत्री, वरिष्ठ चलचित्र निर्देशक विनोद श्रेङ्ग, नेपाल सरकारका उपसचिव कुलराज सुनुवार, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमल, गितकार सरिता राई लगायतको उपस्थिति रहेको थियो ।
यस्तै कला सेरेङको ‘अतितका यादहरू’ गीतिभिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिएका छन् । गायिका अन्जु पन्तले गाउनु भएको छ । उक्त भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ । त्यसमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गरेकी छिन् ।