लामालाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले हस्ताक्षर गरी दाबी पेस गरिएको थियो । मुख्यमन्त्रीको शपथग्रहण भने भोलि (बुधबार) बिहान ११ बजेका लागि तय भएको छ ।यसैबीच बागमती प्रदेशमा एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डा पनि मिलेको छ । कांग्रेसले ७ र एमालेले ६ मन्त्रालय लिने सहमति भएको हो । यस्तै लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि (बुधबार) मात्रै शपथ गर्नुहुने भएको छ । एमालेबाट मुख्यमन्त्री बन्नुभएका आचार्यले कांग्रेससँग मन्त्रालय भागबन्डा मिलाएपछि मात्रै शपथ गर्न लाग्नुभएको हो । लुम्बिनीमा अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन । मन्त्रालय बाँडफाँटपछि मन्त्रीसमेत टुंगो लगाएर शपथ गर्ने उहाँको तयारी छ ।
उता मुख्यमन्त्री दीर्घराज सोडारी नै अनुपस्थित भएपछि सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन नै चल्न सकेन । नेपाली कांग्रेस र नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको आग्रहमा विशेष अधिवेशन बोलाइएको भए पनि मुख्यमन्त्री सोडारी अनुपस्थित भएपछि बैठक चल्न नसकेको हो । कांग्रेस र एमालेले प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री अनुपस्थित हुनु गैरजिम्मेवार र प्रदेश प्रमुखको अपमान भएको बताएको छ ।