सामाजिक उत्तरदायित्व वहन गर्दै लायन्स क्लब नारायणी चौतारी, लायन्स क्लब चितवन लंकु र लायन्स क्लब चितवन राइजले भरतपुर-४, वैदिकनगरमा रहेको आदर्श गृहमा भोजन खुवाउने तथा स्टेशनरी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
लायन्स क्लब चितवन राइजका अध्यक्ष सुर्यमान श्रेष्ठ ज्यूको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिस्टृकट ३२५ आर का गभर्नर एमजेएफ लायन दिनानाथ न्याैपाने ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लब नारायणी चौतारीका सचिव लायन बिश्व पौडेलले गर्नुभएको थियो । कार्यक्रममा डिस्टृकटका विशिष्ट लायन्स पदाधिकारीहरू, क्लबका पदाधिकारीहरू तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
मानविय सहयोगका लागि स्थापना भएको संसारकै सबैभन्दा ठूलो संस्था लायन्स क्लबले विशेष गरी स्वास्थ्य, शिक्षा तथा वातावरण जस्ता क्षेत्रहरूमा काम गर्दै आइरहेको छ । यसै उद्देश्य अनुरुप आदर्श गृहमा कार्यक्रमको आयोजना गरिएको जानकारी लायन्स क्लब नारायणी चौतारीका सचिव लायन बिश्व पौडेलले दिनुभयो । उहाँले यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिने क्लबको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
आदर्श गृहका संचालक समाजसेवी मिना खरेल ज्यूले लायन्स क्लबको समर्पण र समाजप्रतिको योगदानको उच्च मूल्याङ्कन गर्दै, क्लबका सदस्यहरूको निरन्तरता र सहकार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले आदर्श गृहका सहयोगापेक्षीहरूसँग समय बिताउँदै उनीहरूलाई स्टेसनरी सामग्री प्रदान गर्न पाउँदा अत्यन्त खुशी व्यक्त गरे ।