काठमाडौं । इजरायल र हिजबुल्लाहबीच युद्ध चर्कदै गएपछि लेबनानमा रहेका नेपालीले स्वदेश फर्किने इच्छा व्यक्त गर्न थालेका छन् । लेबनानमा रहेका केही नेपालीले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमा फोन गरी उनीहरूले आफूहरू नेपाल फर्कन चाहेको बताएका हुन् ।
“लेबनानको राजधानी बेरुतमा जनजीवन सामान्य छ । तर, फ्लाइट चलिरहेकाले केही नेपालीले छोटो समयका लागि भए पनि नेपाल जान उपयुक्त होला कि भनेर दूतावासमा सम्पर्क गर्नुभएको छ,” इजिप्टका लागि नेपाली राजदूत सुशिलकुमार लम्सालले भने ।
लेबनानलाई इजिप्टस्थित नेपाली दूतावासले हेर्नेगर्छ । केही दिनयता आफ्नै सेना भएको लेबनानको राजनीतिक पार्टी हिजबुल्लाह र इजरायलबीच युद्ध चर्किएको छ । हिजबुल्लाहको दक्षिण लेबनानमा पकड राम्रो छ, जुन क्षेत्र इजरायलको सीमासँग जोडिएको छ ।
पछिल्लो दिन इजरायलले दक्षिण लेबनानमा रहेका हिजबुल्लाहको अखडामा आक्रमण गर्दा ६ सय जनाभन्दा बढी लेबनानीको मृत्यु भैसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । हिजबुल्लाहले पनि इजरायलमा रकेट र मिसाइल प्रहार गरेको छ ।
इजरायलले अब लेबनानको हिजबुल्लाह प्रभावित क्षेत्रमा स्थल आक्रमण गर्ने तयारी गरिरहेको छ । यसले युद्ध झन् चर्किने संकेत गरेको छ । अमेरिका, बेलायत लगायतका देशले ट्राभल एड्भाइजरी जारी गर्दै लेबनान भ्रमणमा नजान र लेबनानमा रहेका आफ्ना नागरिकलाई लेबनान छोड्न अनुरोध गरेका छन् ।
भारतले पनि बिहीबार ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न भनेको छ । बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा लेबनानमा रहेका आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि भनेको छ ।
भारतले मिलेसम्म आफ्ना नागरिकलाई लेबनान छोड्न र नमिलेको अवस्थामा दूतावासको सम्पर्कमा रहन भनेको छ । “लेबनानमा रहेका नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । उहाँहरू सुरक्षित हुनुहुन्छ,” राजदूत लम्सालले भने ।
राजदूत लम्सालका अनुसार एक हजारदेखि १२ सयसम्म नेपाली लेबनानमा कार्यरत छन् । तीमध्ये सात/आठ सय घरेलु कामदार छन् भने अन्य होटेल तथा रेष्टुरेन्ट र उत्पादन क्षेत्रमा कार्यरत छन् । अहिले युद्ध चलिरहेको क्षेत्रमा नेपाली कार्यरत नरहेको जनाइएको छ ।
लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अहिले ९७७ नेपाली सेना खटिएका छन् । शान्ति स्थापनाका लागि उनीहरूलाई लेबनान–इजरायल सीमानजिक खटाइएको छ ।बाहखरीबाट