नेपाललाई विश्वमाझ मर्यादित महिनावारीको देशका रूपमा स्थापित गराउने घोषणा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपाललाई विश्वमाझ मर्यादित महिनावारीको देशका रूपमा स्थापित गराउने घोषणा गर्नुभएको छ ।
दोस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा मङ्गलबार राजधानीमा आयोजित ‘लैङ्गिक हिंसा र मर्यादित महिनावारी’को भूमिका विषयक भर्चुअल बैठकमा उक्त घोषणा गर्नुभएको हो । मन्त्री गुरुङले छाउगोठ जस्तो सामाजिक कलङ्क भइरहने नेपाललाई मर्यादित महिनावारीको देशका रूपमा स्थापित गराउन सरकारले आवश्यक ऐन, नियम, निर्देशिका र नियमावली निर्माणको काम तीव्र बनाएको पनि स्पष्ट पार्नुभयो ।
यस अगाडि जेठ १३, १४ र १५ गते ‘मर्यादित महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी’ गर्ने तय भएको थियो । कोरोनाका कारण सिर्जना भएको स्थितिले उक्त गोष्ठी स्थगित गर्नुपरेको उल्लेख गर्दै उहाँले समाजमा विद्यमान सबै खालका विभेद, विकृति र विसङ्गति अन्त्य गर्न सरकारले स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर सामाजिक अभियान सञ्चालन गर्ने बताउनुभयो ।
सो भर्चुअल बैठकमा सङ्घीय संसद्को महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले सरकारले छाउपडी प्रथा जस्तो सामाजिक कुरीतिको अन्त्य गर्न मर्यादित महिनावारी जस्तो अवधारणा अघि सारेको भन्दै खुसी व्यक्त गर्नुभयो । बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिनावारी मर्यादित बनाउन सरकारले महिलाकै अग्रसरतामा खुला बहसको थालनी गर्नुपर्नेमा जोड दिनुभयो । गोरखापत्र

Facebook Comments Box