भारतीय सुरक्षाकर्मीले गायब बनाएका २ नेपालीको खोजी गर्न आयोगद्धारा सरकारलाई निर्देशन

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौँ । कहाँ छन् ती दुई नेपाली जसलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले अपहरणको शैलीमा सिमा क्षेत्रबाट कब्जा गरेर बेपत्ता पारेको थियो ।
एक दिन वा दुई दिन देखि हैन बषौदेखि । बर्दियाका हर्क बहादुर शाहीलाई ०६७ साल फागुन ५ गते नेपाली भूमिमै खेतीमा काम गरीरहेका बेला एसएसबीले कब्जा गरेर कुटपिट गर्दै लगे पछि अहिले सम्म अवस्था अज्ञात नै रहेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।
त्यसै गरी त्यसको २ बर्ष पछि २०६९ साल फागुण १३ गते दाउरा खोज्न गएका बर्दिया गुलरियाका राम मिलन लोधलाई जंगलमा दाउरा काट्न गएका बेला भारतीय बन रक्षकले नियन्त्रणमा लिएको गोली हानेको भन्ने बताईए पनि अवस्था अझै अज्ञात रहेको भन्दै आयोगले भारतसगँ वार्ता र पहल गरेर ती नागरिकहरुको अवस्था सार्वजनिक गर्न र पीडित परिवारलाई राहत दिन भनेको छ ।

आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सम्म चीन र भारतसित सीमा जोडिएका २८ जिल्लाका नागरिकको अवस्था अध्ययन गरी प्रतिवेदन तयार गरेका हुन् । आयोगले प्रतिवेदन सोमबार अनुमोदन गरिसकेको छ ।

प्रतिवेदनका अनुसार भारतीय सुरक्षाकर्मीले बर्दियाका हर्कबहादुर शाहीलाई २०६७ फागुन र राममिलन लोधलाई २०६९ फागुनमा नियन्त्रणमा लिएका थिए । दुवैको अवस्था अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । आयोगले भारतसित राजनीतिक तथा कूटनीतिक तहमा सार्थक वार्ता गरी दुवै जनाको स्थिति तत्काल सार्वजनिक गर्न लगाउन र पीडित परिवारलाई भारतीय सरकारबाट उचित राहत दिलाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिवेदनमा सीमा क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरीको उपस्थिति बढाई भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिक पक्राउ पर्ने, मारिने र बेपत्ता पारिने अवस्था अन्त्य गरी सुरक्षाको पूर्ण प्रत्याभूति दिनसमेत सरकारलाई सिफारिस गरिएको छ । आयोगले सरकारलाई सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको मर्यादित जीवन जिउन पाउने अधिकार सुनिश्चित गर्न भारतसित सार्थक र प्रभावकारी कूटनीतिक पहल अघि बढाउन पनि भनेको छ ।

बर्दियाको साबिक जमुनी गाविस हाल बढैयाताल गाउँपालिका–१ शान्तिपुरका शाहीलाई भारतीय सुरक्षाकर्मीले २०६७ फागुन ५ मा नेपाल–भारत सीमा स्तम्भ नं। ४१ बाट पक्राउ गरी बेपत्ता पारेका हुुन् । पक्राउपछि उनलाई भारतको लम्बीपोस्टमा लगिएको थियो ।

‘सीमा स्तम्भ नजिक उनी रहरको खेती लगाएको जग्गामा काम गरिरहेका थिए । सीमा क्षेत्रको भारतीय जंगलमा सिकार खेल्न गएका व्यक्तिको खोजी गर्दै भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का तीन जवान मोटरसाइकलमा आए, उनीहरू आउँदा सिकार खेल्न गएका भनिएकाहरू भागिसकेका थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘एसएसबीका जवानहरूले शाहीलाई ४१ नं। को सीमा स्तम्भ नजिकबाट पक्राउ गरी कुटपिट गरेर घिसार्दै भारततर्फ लगे ।’

आयोगले प्रतिवेदनमा शाहीको परिवारले सरकारबाट अहिलेसम्म राहत पनि पाउन नसकेको उल्लेख गरेको छ । सरकारले शाहीको खोजी भइरहेको भनेर पीडित परिवारलाई आश्वस्त पार्न पनि नसकेको आयोगले जनाएको छ ।

आयोगको प्रतिवदेनअनुसार २०६९ फागुन १३ गते भारतीय जंगलमा दाउरा खोज्न गएका बर्दियाको गुलरिया नगरपालिका–११ का लोध फर्किएनन् । प्रतिवेदनअनुसार भारतको मूर्तिया जाने ठाउँमा ममहितमाता मन्दिर नजिक रेन्जरको नेतृत्वमा आएको भारतीय वनरक्षकले गोली चलाएपछि लोधको अवस्थाबारे केही जानकारी छैन । आमा, बाबु, श्रीमती, दुई छोरा, बुहारी, तीन नातिनातिना भएका निजको परिवारले पनि हालसम्म कुनै राहत पाउन सकेको छैन ।

Facebook Comments Box