भाइरस नियन्त्रण भएका मुलुकहरुमा संक्रमणको दोस्रो लहर फैलिन सक्ने डब्लुएचओ को चेतावनी

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी /जेनेभा,  विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमण नियन्त्रण भएका मुलुकहरुमा संक्रमणको दोस्रो लहर फैलिन सक्ने चेतावनी दिएको छ।

ती देशहरुले संक्रमण नियन्त्रण भयो भन्दै लगाइएका प्रतिबन्धहरु हटाउन हतार गरे महामारीको दोश्रो लहर आउने चेतावनी डब्लुएचओले सोमबार दिएको हो।

‘विश्व अझै पनि कोरोना भाइरसको प्रकोपको पहिलो लहर बीचमा छ,’ डब्ल्युएचओका आपतकालिन प्रमुख डाक्टर माइक रायनले एक अनलाइन ब्रिफिङमा भने छन्, ‘धेरै देशहरूमा केस घट्दो छ तर मध्य र दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा भने संक्रमित केस दैनिकी वृद्धि भइरहेका छन्।’

महामारी प्रायः लहरमा आउने चेतावनी दिदैं रायनले कोरोना भाइरसको पहिलो लहर फैलिएर नियन्त्रणमा आएका देशहरुमा पुनः सुरु हुनसक्ने बताएका हुन्।

रोकथामका लागि लगाइएका उपायहरु हटाइएमा संक्रमित संख्या फेरि बढ्न सक्ने सम्भावना रहेको उनले बताए।

‘संक्रमणको पहिलो लहर आफै आउँछ र यसको केही महिना पछि पुनरावृत्ति हुन्छ। भाइरसको पुनरावृत्ति धेरै देशहरूका लागि केही महिनापछि वास्तविकता हुन सक्छ,’ रायनले भने, ‘तर हामीले यस तथ्यलाई पनि ध्यान दिनु आवश्यक छ कि यो रोग कुनै पनि समय बढ्न सक्छ। संक्रमित संख्या घट्दै गएको छ भन्दैमा हामी भाइरस पूर्ण नियन्त्रणमा आएको अनुमानहरू गर्न सक्दैनौं।तर संक्रमणको दोस्रो लहरका लागि तयार हुन हामीसँग समय छ। दोस्रो लहरमा संक्रमित संख्या वृद्धि हुन सक्छ।’

भाइरसको दोस्रो लहर तत्काल सुरु नहुने हुँदा रायनले युरोप र उत्तर अमेरिकी देशहरु यतिबेला सार्वजनिक स्वास्थ्य र सामाजिक, निगरानी, परीक्षणका उपायहरूसँगै र एक व्यापक रणनीतिसहित तयार रहनुपर्ने सल्लाह दिएका छन्।

धेरै युरोपेली देश र अमेरिकी राज्यहरूले हालसालै लकडाउनका प्रतिबन्ध र उपायहरू हटाउन सुरु गरेका छन्।

लकडाउनकाका कारण अर्थव्यवस्थालाई गम्भीर क्षति पुगेको छ। ती क्षेत्रमा संक्रमण नियन्त्रणमा आएको तथ्यांकपछि प्रतिबन्धहरु हटाइएको हो।

Facebook Comments Box