क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा वडाध्यक्षको क्वारेन्टिन स्थलमै मृत्यु

खवर पाटी (खोज खबरको अभियान)

कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।

५८ वर्षीय ती वडाध्यक्षको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले पुष्टि गरेका हुन्।

‘उहाँलाई राति एक्कासी समस्या भएर अस्पताल ल्याइएको थियो तर उहाँको बाटोमै मृत्यु भइसकेको रैछ,’ उनले भने।

क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहेकाले मृतकको कोरोना परीक्षण गर्न स्वाब झिकिएको अस्पतालले जनाएको छ। श्रेष्ठले नतिजा आएपछि मात्र शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो लाग्ने बताए।

कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालका अनुसार मृतक वडाध्यक राति खाना खाएर नयाँ बनाइएको क्वारेन्टिन हेर्न निस्किएका थिए।

क्वारेन्टिनमा पुगेर उनी कुर्सीमा मोबाइल चलाएर बसिरहेका बेला एक्कसी ढलेका थिए।

मेयर हमाल भन्छन्, ‘त्यही भएर उहाँको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेका हौं। तर पिसिआर परीक्षणको नतिजा नआइ केही भन्न मिल्दैन।’

उनले मृतक वडाध्यक्ष दिनभर आफ्नो कार्यकक्षमा रहेको पनि सुनाए।

‘उहाँ पछिल्लो समय क्वारेन्टिन व्यवस्थापनमा सक्रिय भएर काम गरिरहनुभएको थियो तर एक्कासी हिजो यस्तो भयो,’ उनले दुःख व्यक्त गर्दै भने। – सेतोपाटी

Facebook Comments Box