नेता थापाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गरेका छन्।

नक्सा सम्बन्धी विषयमा अनेक चलखेल भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया बीचैमा तुहिनसक्ने आशंका बढिरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान  गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुने तर्फ ध्यानाकर्षण गराएका हुन्। उनले परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोलि नै बैठक बोलाउनु पर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ।’

काँग्रेस नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ’फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गरे।

भारतले सीमाना मिचेको भन्दै थापाले संसदबाट संकल्प गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बुधबार संशोधन प्रस्ताव पेश गर्ने भनिए पनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएपछि आशंका बढ्दै गइरहेका बेला उनले कांग्रेसलाई तत्काल औपचारिक निर्णय गर्न जोड दिएका हुन्।

भारतीय पक्षबाट विभिन्न पार्टीका नेतालाई नक्सा पारित नगर्न दबाब आएको चर्चा व्यापक भइरहेका बेला त्यसबाट प्रभावित नहुन नेता थापाले नेताहरुलाई दबाब दिँदै आएका छन्।

Facebook Comments Box