मदिरा पिएर प्रहरीले कुटपिट गरेको भन्दै सप्तरीको क्वारेन्टाइनमा आन्दोलन

खवर पाटी (खोज खबरको अभियान)

राजविराज : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी बल्लभ नरसिंह माविको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । क्वारेन्टाइनमा राति मदिरा पिएर आएका प्रहरीले कुटपिट गरेको भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले खानासमेत छाडेका छन् । उनीहरूले आरोपित प्रहरी सहायक निरीक्षक (असइ) सञ्जयकुमार सिंहलाई कारवाही नभएसम्म खाना नखाने अडान लिएका छन् ।

को बर्साइन प्रहरी चौकीका असइ सिंहले मङ्गलबार राति क्वारेन्टाइनमा बसेका भारतीयलाई निकाल्न खोजेपछि विवाद भएको कुसुमलाल मण्डलले बताए । भारतको चण्डिगढ घर भएका दम्पति आफ्नो बुवा र ससुराको वार्षिकी तिथिका लागि तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरा आएका थिए भने सितामढी घर भएका एक भारतीय कुशहा टोलमा बस्दै आएका छोराछोरी भेटन आएका थिए ।

रातको समयमा दम्पतिलाई निकाल्न खोजेको भन्दै क्वारेन्टाइनमा बसेका उनका आफन्तले प्रहरीलाई अवरोध गरेका थिए । निकाल्ने भए हामी सबैलाई निकाल्नु पर्ने भन्दै क्वारेन्टाइनमा बसेका बाहिरिएपछि प्रहरी पछाडि हटेको थियो । कुशहामा छोराछोरी भेट्न आएका भारतीय भने राती नै आफन्तकहाँ गएको प्रहरीले जनाएको छ । क्वारेन्टाइनमा १० जना महिलासहित ७३ जना छन् ।

कुटपिट गरेको आरोप अस्विकार गर्दै असई सिंहले आफूलाई ठेल्दै आएकालाई लाठीको दुई किनारमा समातेर ठेलेको तर नकुटेको बताए । एक सातादेखि क्वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहसँग समन्वय गरी उनीमार्फत नै भारतीयलाई आफन्तकहाँ जान सल्लाह दिंदै आएको असई सिंहले बताए । जिल्ला प्रहरी कार्यालयबाट भारतीय क्वारेन्टाइनमा छन् कि छैनन् तुरुन्त खबर गर्नु भन्ने आदेश आएपछि आफू वास्तविकता बुझ्न गएको जानकारी दिंदै असई सिंहले भने, ‘एक दम्पतिसहित तीन जनालाई क्वारेन्टाइनबाट नजानुको कारण सोध्दै आफैंले सम्बन्धित आफन्तकहाँ पुर्‍याइदिने भनेकोमा उनीहरुले विवाद गरेका हुन् ।’

बिहानदेखि नै तनाव बढेपछि गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीलगायत क्वारेन्टाइन स्थल पुगेका छन् । अध्यक्ष सिंहले असइबाट राति गएर निकाल्न खोज्नु गल्ती भएको बताए । असइबाट भएको गल्तीको मौका छोपी क्वारेन्टाइनभन्दा बाहिर रहेका तस्कर सक्रिय भएर आन्दोलन गर्न लगाएको उनको भनाइ छ । प्रहरी चौकी को.बर्साइनमा सिंह असइ भएर आएदेखि नेपाल–भारतमा अवैध समान ओसारपसार गर्ने तस्करी नियन्त्रणमा आएपछि असइविरुद्ध आन्दोलन केन्द्रित भएको अध्यक्ष सिंहको दावी छ ।

डिएसपी भारतीले प्रकृया मिलाएर असइलाई फिर्ता गर्ने मौखिक आश्वासन दिएपछि वातावरण शान्त भएको छ । असइलाई प्रहरी चौकी को. बर्साइनबाट फिर्ता नलगे आन्दोलनलाई निरन्तरता दिइने प्रदर्शनकारीले चेतावनी दिएका छन् । अन्नपूर्ण

Facebook Comments Box