काठमाडौं : बिहीबार दिउँसो सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दैछ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे बजेट भाषण गर्दैछन्।
४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गरेका छन्। बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहिवार साँझ ६ बजे बस्ने छ।
तिनिधिसभाको बुधबारको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन्।
बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतिकरण नगर्न र मृतकलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गरेका हुन्। सांसद मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको आरोप लगाए
सांसद विमला नेपालीले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा भएको घटनामा मृत्यु भएकालाई सामाजिक शहीद घोषणा गरी घटनाको संसदीय छानविन गर्न माग गरेकी छन्।
सांसद मनकुमारी जिसीले रुकुमपश्चिमको घटना पुनः दोहोरिन नदिन आग्रह गरिन् सांसद महिन्द्रकुमारी लिम्बू रुकुमपश्चिमको घटनाको छानविनका लागि सर्वदलीय समिति गठन गर्न माग गरे।
सांसद यशोदा सुवेदी गुरुङले घटनालाई राजनीतिकरण नगर्न माग गरिन्। सांसद लक्ष्मी परियारले रुकुमपश्चिममा भएको जातीय विभेद र नरसंहारको घटनामा संविधान र कानूनको किन प्रभावकारी कार्यान्वयन भएन भनी प्रश्न गरेकी थिइन्।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्याको घटना भएको थियो।
मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो। नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ। सोही घटनामा अन्य तीनजना बेपत्ता छन्।
भूमि अतिक्रमणविरुद्ध एकमत
बैठकमा सांसद डा मीनेन्द्र रिजालले संविधान संशोधनका लागि सर्वदलीय बैठक र समझदारी बढ्नु सकारात्मक भए पनि त्यस्ता बैठकमा भएका निर्णय संसद्लाई जानकारी दिने परम्परा सुरु गर्न आग्रह गरे।
सांसद मोहन बानियाँले अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी भएकामा खुशी व्यक्त गर्दै वार्ताबाट भूमि फिर्ता ल्याउन आग्रह गरे। सांसद मीना सुब्बाले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन खुट्टा नकमाउन सरकारसँग आग्रह गरिन्। सांसद रामबहादुर विष्टले भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीले दिएको योगदानलाई बिर्सेर भारतले नेपाली भूभागमा अतिक्रमण गर्नु दुःखको विषय भएको बताए।
सांसद रेखा शर्माले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गरेकामा सरकारलाई धन्यवाद दिँदै कूटनीतिक वार्ताबाट भूमि फिर्ता गर्न आग्रह गरिन्। सांसद रेनुका गुरुङले सुगौली सन्धिका आधारमा नेपालको भूभागमा भारतले अतिक्रमण गर्नु दुःखद् भएकाले ग्रेटर नेपाललाई कायम राख्ने गरी पहल गर्न माग गरेकी छन्।
बैठकमा सांसद मातृकाप्रसाद यादवले कोरोना सङ्कटको दीर्घकालीन व्यवस्थापन गर्न आग्रह गरे। सांसद राजेन्द्रप्रसाद गौतमले बन्दाबन्दीको अवधि थपिँदै जाँदा खाने वर्ग बढी प्रभावित भएकाले ती वर्गका लागि विशेष कार्यक्रम ल्याउन माग गरे। सांसद विमला विकले तराईका क्षेत्रमा भारतबाट फर्केकालाई अनिवार्य परीक्षण र बर्दियामा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरिन्
सांसद भरतकुमार साहले धानको बीउ राख्ने समयमा सहजरुपमा किसानले बीउ प्राप्त नगरेको गुनासो गरे। सांसद भीमसेनदास प्रधानले काठमाडौँ बाहिरबाट आउनेलाई उचित जाँच गरी क्वारेन्टिनमा राख्न सुझाव दिएका छन्।
सांसद भैरवबहादुर सिंहले भारतमा रहेका नेपालीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको उपयुक्त व्यवहार नगरेको बताउनुभयो। सांसद विमलप्रसाद श्रीवास्तवले भारतमा अलपत्र परेकालाई स्वदेश ल्याउन माग गरे।
बैठकमा भवानीप्रसाद खापुङ, महेश्वरजङ्ग गहतराज, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, नवीन्द्रराज शर्मा, राजबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेखा कुमारी, लक्ष्मीकुमारी चौधरीलगायतले जनजीवनका विभिन्न सवालमा सरकारलाई ध्यानाकर्षण गराएका थिए।