छोड् छोड् विस्तारवाद नेपाल भूमि छोड्…. (भिडियोसहित)

खवर पाटी (खोज खबरको अभियान)
  • नारायण शर्मा

देशको माटो लुटिएको समयमा, आफ्नो मातृभूमिमा विदेशी सेनाहरुले परेड खेल्दै अड्डा जमाइरहेका बेला, कुनै पनि स्वभिमानी नेपालीको मनमा आक्रोशको ज्वाला दन्किनु स्वभाविक हो । अहिले हरेक नेपालीको मनमा आक्रोशको त्यस्तै ज्वाला दन्किरहेको छ ।

राजनीतिक दल, संघ/संस्था र संगठनहरु मात्र होइन, विभिन्न पेशाकर्मीहरुले पनि यतिबेला भारतीय साम्राज्यवादको विस्तारवादी नीतिकाविरुद्धमा आवाज बुलन्द गरिरहेका छन् ।

नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो देशभित्र पारेर भारतले नक्सा सार्वजनिक गरेपछि त देशभक्त हरेक नेपालीको मनमा आक्रोसको ज्वाला झनै दन्किरहेको थियो । त्यहीँबीचमा नेपाली भूमिबाट भारतले सडक बनाएर उद्घाटन गरेको छ ।

भारतीय कदमको प्रतिवादमा नेपालले पनि अतिक्रमित क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसले अतिक्रमण भएको क्षेत्रबाट भारतीय विस्तारवादलाई हटाउन दबाब बढीरहेको छ ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि सबै नेपाली खुसी भएका छन् । सबैको चाहना छ, नक्सामा मात्रै नभएर वास्तविकरुपमै नेपालको जमिन फिर्ता हुनुपर्छ । त्यसका लागि सरकारलाई खबरदारी गरिएको छ ।

भारतीय विस्तारवादको तिब्र विरोध भएपछि नेपाल सरकार नयाँ नक्सा जारी गर्न बाध्य भएको हो । सरकारलार्ई दबाब दिन र भारतीय विस्तारवादविरुद्धको अभियानमा नेपाली गीत संगीतको ठूलो महत्व छ ।

भारतको त्यही विस्तारवादी लुटाहा प्रवृत्तिविरुद्ध जुध्न अभिप्रेरित गर्दै ऊर्जा थपिरहेको एउटा कालजयी गित :’छोड छोड विस्तारवाद….’ बारे संक्षिप्तमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

जनगायक जीवन शर्माको शब्द, संगीत र उहाँसहितका रक्तिम सांस्कृति अभियानका कलाकारको स्वरमा रहेको “छोडछोड विस्तारवाद” बोलको यो गीत अहिलेको परिस्थितिमा सर्वप्रीय बनिरहेको छ ।

सामाजिक सञ्जालमा बढी यहीँ गीत छाइरहेको देखिन्छ । रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्षसमेत रहेका जनगायक शर्माले आजभन्दा २६ वर्ष पहिले २०५१ सालमा रचना गरेको यो गीत रक्तिमको जनगीति यात्रा भाग ९ मा समावेश छ ।

गीत अहिले झनै सान्दर्भिक भएको छ । वीर रसमा रहेको यस गीतमा समस्याको उजागर मात्र होइन त्यसको उचित सामाधानका निम्ति स्पष्ट मार्गचित्र दिइएको छ ।

कुनै पनि राष्ट्र भूगोलका आधारमा सानो ठूलो हुन सक्ला, स्रोत र साधनका हिसाबले कुनै सम्पन्न र कुनै विपन्न हुन सक्लान तर सार्वभौमिकताका हिसाबले कुनै राष्ट्र ठूलो र कुनै सानो भन्ने हुँदैन ।

सबैलाई आफ्नो सार्वभौमिकता उत्तिकै प्यारो हुन्छ । अमेरिकाको नाकैमुनि रहेको क्यूवा भूगोलका आकारमा अमेरिका भन्दा धेरै सानो छ । तर, विगत ६० वर्षदेखि उसले अमेरिकी साम्राज्यवादको अमानवीय नाकाबन्दीको सशक्त सामना गर्दै आफ्नो सार्वभौमसत्ता जोगाइरहेको छ ।

उत्तर कोरिया पनि अमेरिकी साम्राज्यवाद सामु झुकेको छैन। धेरै टाढा पनि नजाऔं, हाम्रै इतिहास साक्षी छ । संसारका विभिन्न देशलाई आफ्नो गुलाम बनाएको ठूलाठूला आधुनिक हातहतियारले सुसज्जित अंग्रेज सेनाहरुलाई हाम्रा वीर पुर्खाले धुलो चटाइदिएका थिए ।

वीर पुर्खाको बलमा नै स्वतन्त्र नेपालको अस्तित्व बच्न सकेको थियो । दक्षिणी छिमेकी भारतलाई समेत आफ्नो कब्जामा लिइसकेको बिट्रिस सामाज्यवादलाई इतिहासमा नेपाली सेनाले हराइदिएको थियो ।

अंग्रेजलाई हराएर वीर नेपालीले सार्वभौमिकताको रक्षा गरेका थिए । त्यसैले सारा जनता एक भएर संघर्षको आँधीबेहरी सिर्जना गर्ने हो भने शक्तिशाली भनिएका साम्राज्यवादीहरु पनि पछि हट्न बाध्य हुनेछन् ।

नेपालमा यो देश जोगाउन फेरि एकपटक देशभक्त सारा जनता एक भएर लाग्नुपर्ने बेला आएको छ । त्यसरी संघर्षमा लामबद्ध भइयो भने विजय अवश्य पनि हाम्रो हात लाग्नेछ ।

जनगायक जीवन शर्माको गीतले यस्तै भाव बोकेको छ ।

छोड छोड विस्तारवाद नेपाल भूमि छोड
भारतीय सेनाहरु कालापानी छोड
एउटा सानो राष्ट्रले आँट गरेमा
ठूला–ठूला साम्राज्य ढालिदिन्छ
यो देश बचाउन खाँचो परेमा
दुई करोड नेपाली एक हुन्छ
छोड छोड बिस्तारबाद नेपाल भूमि छोड
भारतीय सेनाहरु कालापानी छोड
सर्वहारा वर्गको राज भएमा
लालीगुँरास फुल्नेछ, हाम्रो आँगनमा
राष्ट्रिय मुक्तिको नयाँ बिहानमा
चन्द्र सूर्य चम्किनेछ नयाँ गगनमा
छोड छोड विस्तारवाद तेरो हैकम छोड
भारतीय सेनाहरु मेची सीमा छोड
छोड छोड विस्तारवाद नेपाल भूमि छोड
भारतीय सेनाहरु कालापानी छोड….

यसरी गीतले स्पष्टरुपमा संकेत गरेको छ– विस्तारवादी नीति र प्रवृत्तिकाविरुद्ध जुध्न देशमा राष्ट्रिय मुक्ति आन्दोलन नितान्त जरुरी हुन्छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा आज भारतीय विस्तारवादले आफ्नो अतिक्रमणको मुकुण्डो जसरी छरपष्ट पारिरहेको छ, यसको एकमात्र सामाधान राष्ट्रिय मुक्ति आन्दोलन नै हो ।

राष्ट्रिय मुक्ति आन्दोलन सफल भएपछि मात्र विस्तारवादी र साम्राज्यवादीहरुका यस प्रकारका हस्तक्षेप र लुटहरुलाई पूर्णरुपमा निस्तेज पार्न सकिनेछ । जनगायक जीवन शर्माको कालजयी गीत ‘छोड छोड विस्तारवाद….’ ले मूलरुपमा त्यहीँ यथार्थ भाव बोकेको छ ।

(लेखक शर्मा: कलाकार तथा पत्रकार हुन्)

Facebook Comments Box