काठमाडौं, जेठ १७ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी मा विवाद सुरु भएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा समावेश गराएको आपत्ति जनाउनु भएको छ ।
बजेटमा एमसीसी नभनेपनि त्यसका कार्यक्रमलाई समावेश गरि बजेट नै छुट्याएपछि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुग्नुभएको थियो । भेटवार्ता पछि थप छलफल गर्न आज शनिवार विहान ९ बजे सचिवालय बैठक समेत बोलाइएको छ ।
सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको बजेटमा लप्सीफेदी–रातामाटे –हेटौंडा र लप्सीफेदी–रातमाटे –दमौली–बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख र अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा एमसीसी भनिएको छैन । तर ठूलो रकम विनियोजन गरेकाले एमसीसीलाई नै अगाडि बढाउन खोजेको देखिन्छ । सरकारले नीति तथा कार्यक्रममा पनि ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने भनेको थियो ।
लगतै नेकपाको एमसीसी कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले आपत्ति जनाएका थिए । आफूहरुको कार्यदलले परिर्माजन नगरी सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको भन्दै दुबैले पार्टीमा छलफल नगरी एमसीसी सम्झौता अगाडि नबढाउन आग्रह गरेका थिए । नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसी अनुमोदन गर्ने नगर्ने संसदको हातमा भएको र एमसीसी अनुमोदन नभए सरकार आफैंले अन्तरदेशीय प्रशारण लाईनमा लगानी गर्ने बताउनुभएको थियो ।
तर बजेट आउँदा एमसीसी अगाडि बढाउने गरी आएको भन्दै सचिवालय सदस्यहरुले नै आपत्ति जनाएका छन् । पार्टीमा निर्णय नै नभएको विषय बजेटमा आएकोले त्यसलाई तत्काल फिर्ता लिनुपर्छ भन्ने प्रष्ट मत रहेको एक सचिवालय सदस्यले बताए । यसबारे आजको बैठकमा थप छलफल हुने उनले बताएका छन् ।
यसैबीच नेकपा सचिवालयको बैठक आज बस्दै छ । बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसीबारे छलफल हुने जनाईएको छ । नेकपा भित्र परिमार्जन नगरी एमसीसी पारीत गर्न नहुने दवाव छ । मिरमिरे