सीमा क्षेत्रको बिषयमा गलत असमझदारी छ भने हामी नेपालसँग बसेर छलफलबाटै समाधान खोज्छौँ,’ -भारतीय रक्षामन्त्री राजनाथ सिंह

खवर पाटी (खोज खबरको अभियान)

नेपाल र भारतबीच सीमा क्षेत्रको भूभागको स्वामित्वलाई लिएर विवाद बढिरहेको बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई दुई मुलुक बसेर समाधान खोज्ने बताएका छन् ।  शनिबार एक भारतीय टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘नेपालसँगको सम्बन्धको प्रश्न छ, हाम्रो दाजुभाईको सम्बन्ध छ, पारिवारिक सम्बन्ध छ। यदी कहीँ कतै भ्रम वा गलत असमझदारी छ भने हामी नेपालसँग बसेर छलफलबाटै समाधान खोज्छौँ,’ उनले भनेका छन्।

टेलिभिजन प्रस्तोताले के चीनले नेपाललाई उकासी रहेको छ भनि सोधेको प्रश्नको जवाफमा उनले कसले उकासी रहेको छ भन्ने विषयमा अफूले आरोप नलगाउने, तर नेपालसँग कुनै फरक मत भएमा बसेर सुल्झाउने बताए । चीनले भारतलाई नेपाल, श्रीलंका, माल्दिभ्सहुँदै चारैतर्फबाट घेर्न खोजेको हो भन्ने प्रश्नको जवाफमा उनले भारत कसैले घेराबन्दीमा पारेर वा डराउन खोजेर डराउने मुलुक नभएको बताएका छन्।

भारतीय रक्षामन्त्री सिंहले गत बैशाख २६ मा नेपालको भूभाग लिपुलेकहुँदै कैलाश मानसरोवर जोडने सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि दुई मुलुकबीच विवाद चर्किदै गएको छ। यस विषयमा नेपालले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट समेत बुझाइसकेको छ। भारतसँग वार्ताका लागि नेपालले गरेको प्रयासमा भारतले चासो नदेखाएपछि नेपालले भारतले अतिक्रमण गरेरको भूभाग समेटेर नयाँ नक्सा समेत सार्वजनिक गरिसकेको छ।

विवादकाबीच नेपालले वार्ताकै माध्यमबाट समस्याको समाधानका पक्षमा रहेको बताइरहेका बेला भारतीय उच्च नेतृत्वबाट वार्ताकै माध्यमबाट समस्याको समाधान खोज्ने प्रतिक्रिया आएको हो। एजेन्सी

Facebook Comments Box