राष्ट्रिय जनता पार्टी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएको छ । तर मत भने विपक्षमा नहाल्ने तयारी राजपाको रहेको छ ।

शनिबार सिंहदरबारमा बसेको राजपा संसदीय दलको बैठकले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मत नहाल्ने निर्णय गरेको सांसद प्रमोद साहले जानकारी दिए ।

नेपालको संविधानको अनुसूची-३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधि सभामा प्रस्ताव दर्ता भइसकेको छ ।

सांसद साहले सरकारले गर्न लागेको संविधान संशोधनमा आफूहरुका माग सम्बोधन नभएकाले संविधान संशोधनको पक्षमा आफूहरु सहमत नभएको बताए ।

राजपासँग पार्टी एकता गरेको समाजवादी पार्टीले भने के गर्ने भन्ने टुंगो लगाएको छैन । पार्टी विभाजन हुने अवस्था आएपछि दुवै पार्टीले एकाएक पार्टी एकता घोषणा गरेका थिए । तर कानुनी मान्यता भने अहिलेसम्म पाएको छैन ।

भारतले अतिक्रमण गरेको भूमिसहित नक्सा जारी भए पनि संविधानको अनुसूचीमा पुरानै नक्सा रहेकाले कानुनी मान्यता दिनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

भोलि बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्तावमा छलफल हुने भएको छ ।

Facebook Comments Box