काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची राखिएको छ ।
संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । यसअघि जेठ १४ गते सम्भावित कार्यसूचीमा राखेर नेपाली कांग्रेसले समय मागेको भन्दै अन्तिम समयमा हटाइएको थियो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेसँगै सरकारले फेरि एक पटक आज सदनमा प्रस्ताव पेश गर्ने तयारी गरेको छ । जेठ ९ गते संसद सचिवालयमा दर्ता भएको विधेयक आज सदनमा पेश हुने भन्दै सरकारले सबै दललाई सर्वसम्मत पारित गर्नका लागि आव्हन गरेको छ ।