सिमकोट, जेठ २० । नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक काटेर टोली हिल्सामा पुगेको हो ।
गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बीओपी स्थापनाका लागि सशस्त्र प्रहरीको एक टोली हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनुभयो । टोली आवश्यक पूूर्वाधारदेखि सबै व्यवस्था गर्ने र त्यसपछि बीओपीको औपचारिक रूपमा कार्यालय स्थापना हुने उहाँले बताउनुभयो ।
सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा १७ जनाको टोली हिल्सा पुगेको हो । टोलीले कार्यालयका लागि घर भाडामा लिनेदेखि अन्य व्यवस्था गरिरहेको छ । हिल्सा पुगेको टोलीले सीमा चौकी स्थापनाको तयारी गरिरहेका बेला सप्रनाउ विष्ट भने एक टोली लिएर जिल्लामा आएसँंगै औपचारिक कार्यालय स्थापनाको तयारीमा लाग्नुभएको छ । बीओपीका लागि सबै तयारी भएपछि औपचारिक रूपमा कार्यालय स्थापना हुनेछ । सशस्त्र प्रहरीको प्रधान कार्यालयले हिल्सामा औपचारिक सीमा सुरक्षा चौकी स्थापना चाँडै हुने जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली हाललाई हिल्सामा बस्ने छ । टोलीले सीमा सुरक्षाका साथै सिमानामा हुने अन्य गतिविधिको पनि सुरक्षा गर्नेछ । सीमा सुरक्षा चौकीको माग धेरै पहिलेबाट हुम्लावासीको तर्फबाट रहँदै आएकोमा बल्ल सो माग पूरा भएको छ ।
नेपालले उत्तरी सीमामा पनि सीमा सुरक्षा चौकी स्थापना गर्ने कार्य अगाडि बढाएको छ । यसअघि हिल्सामा सीमा सुरक्षा पोस्टका रूपमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । हिमपातपछि चिसो बढ्दा सो टोली गत मङ्सिरमा नाम्खा गाउँपालिकाको मुचुमा सरेको थियो । टोली हालसम्म फर्केको छैन । त्यस्तै गरियारी भन्सार र अध्यागमनको टोली पनि हिल्सा फर्केको छैन । सशस्त्रको सीमा प्रहरी चौकी बसी सकेपछि ती कार्यालयहरू पनि अब सीमामा जानु आवश्यक देखिएको छ । राजन रावत/गोरखापत्र
Facebook Comments Box