करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान, सेनालाई व्यवस्थापनको जिम्मा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने अनुमान गरेको छ ।

सरकारले १२ जेठको मन्त्रिपरिषद् निर्णयमार्फत भारतबाट स्वदेश फर्कन चाहनेहरूका लागि २० वटा नाका खुला गरेको छ भने अन्य मुलुकबाट आउन चाहनेहरूका लागि प्राथमिकता तोकेको छ । सरकारले भारतका २० नाकाबाट गरी करिब ५ लाख तथा भारतबाहेकका अन्य मुलुकबाट करिब ४ लाख गरी ९ लाखको हाराहारीमा नेपालीहरू स्वदेश फर्कने अनुमान गरेको हो ।

‘भारतबाट नेपालीहरू फर्कने क्रम जारी छ । अब करिब ५ लाखको हाराहारीमा भारतबाट र भारतबाहेक अन्य मुलुकबाट ४ लाख गरी करिब ९ लाख नेपाली फर्कने सरकारको अनुमान छ । सेनालाई सोहीअनुसार तयारी गर्न भनिएको छ,’ एक मन्त्रीले भने ।

सरकारले मन्त्रिपरिषद् बैठकबाट विदेशबाट आउनेहरूको व्यवस्थापन र उनीहरूलाई घरसम्म पुर्याउन सेनालाई खटाउने निर्णय गरिसकेको छ । सेनाले नै विमानस्थल र भारतसँगका नाकाबाट भित्रने नागरिकहरूलाई होल्डिङ सेन्टरसम्म लैजानेछ । यस्तै, होल्डिङ सेन्टरबाट विभिन्न प्रक्रिया पूरा गरेर जिल्लासम्म पु-याइनेछ ।

भारतबाहेकका मुलुकबाट आउनेहरूका लागि सरकारले १५ वटा प्राथमिकता तोकेको छ । जसअनुसार सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र नेपाल आउन अनुमति प्राप्त भइसकेका, बर्हिगमन भिसामा परेका, काजकिरियाका लागि फर्कनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य समस्या भएकाहरू स्वदेश फर्कन पाउनेछन् ।

यसैगरी, सुत्केरी तथा गर्भवती महिला, बाललबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, सरकारी सेवामा रही अध्ययन वा तालिमका लागि विदेश पुगेका, अध्ययन समाप्त भएका विद्यार्थी, फर्कनैपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी, परिवार भेटघाटका लागि गएका, कम्पनीबाट रोजगारीसहित बिदा सुविधा पाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेका तथा पर्यटक भिसामा विदेश पुगेकाहरू स्वदेश आउन पाउनेछन् । तर, कोरोना संक्रमण पुष्टि भएकाहरू भने संक्रमण ठीक नहुन्जेल फर्कन पाउनेछैनन् ।

विदेशबाट फर्कने नागरिकहरूको विदेशस्थित नेपाली दूतावासमार्फत विवरण संकलन भइरहेको छ । यसरी फर्कन चाहनेहरूले कोभिड नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेस गर्नु पर्नेछ । भारतबाट आउनेका लागि तोकिएका नाका नजिकै होल्डिङ सेन्टर बनाइनेछ । सामुदायिक विद्यालय, सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुला ठाउँमा होल्डिङ सेन्टर राख्ने सरकारको तयारी छ ।

भारतबाट आउनेलाई होल्डिङ सेन्टरमै सवारीको व्यवस्थापन गरिनेछ । होल्डिङ सेन्टरमा ज्वरो परीक्षणपछि स्वस्थ रहेकालाई जिल्ला सदरमुकामसम्म पु-याउने व्यवस्था नेपाली सेनाको संयोजकत्वमा हुनेछ । यस्तै, १ सय ४ भन्दामाथि ज्वरो आएकाहरूलाई सेनाले नै आइसोलेसनमा लैजानेछ ।

भारतबाहेक अन्य देशबाट आउनेका लागि काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगत रुपमा होल्डिङ सेन्टरको व्यवस्था गरिनेछ । विदेशबाट आएकाहरूलाई जिल्ला नलग्दासम्म काठमाडौंमा बनाइने होल्डिङ सेन्टरको व्यवस्थापन पनि स्थानीय प्रशासनको सहयोगमा सेनाले नै गर्नेछ । त्यसपछि सेनाले उनीहरूलाई सम्बन्धित जिल्लामा पु-याउनेछ ।

विदेशबाट फर्किएकाले आफ्नै खर्चमा होटलमा बस्न चाहेमा भने होटलको व्यवस्था पर्यटन मन्त्रालय र नेपाली सेनाको समन्वयमा स्थानीय प्रशासनले गर्नेछन् । यसरी आएकाहरूको सरकारले तोकेअनुसार क्वारेन्टिनमा बसिसकेपछि पनि कोरोना परीक्षण गरिनेछ । रिपोर्ट नेगेटिभ आएपछि समेत उनीहरू निश्चित समयका लागि होम क्वारेन्टिनमा नै बस्नु पर्नेछ । राजधानी

Facebook Comments Box