काठमाडौं । भारतले अहिले पाकिस्तानी उच्च आयोगका दुई अधिकारीहरुलाई २४ घण्टा भित्रमा आफ्नो मुलुक छाडेर जान निर्देशन दिएको छ । भारतले बताए अनुसार अहिले मुलुक छाड्न निर्देशन दिइएका दुई अधिकारीले भारतको राष्ट्रिय सुरक्षाको विरुद्धमा काम गरिरहेका थिए । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनीहरुलाई जासुसीको आरोपमा भारतीय अधिकारीले पक्राउ गरेका थिए । भारतको दिल्ली प्रहरी अधिकारीका अनुसार पाकिस्तानी उच्च आयोगका तीन जना अधिकारीलाई भारतीय सुरक्षासँग सम्बन्धित जानकारी जुटाउने क्रममा पक्राउ गरिएको थियो । यस विषयमा भारतीय विदेश मन्त्रालयले पाकिस्तानसँग पनि कडा विरोध जनाएको छ ।
यसै बीच पाकिस्तानको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गरेर भारतको यस कदमको विरोध गरेको छ । आफ्ना पाकिस्तानी अधिकारी माथि गलत आरोप लगाइएको भन्दै पाकिस्तानले आफ्ना अधिकारीको बचाउ गरेको छ । पाकिस्तानले भारतले उठाएको यो कदम दुई मुलुक बीचको कूटनीतिक सम्बन्ध घटाउने उद्देश्यका साथमा उठाइएको आरोप लगाएको छ । – एजेन्सी