मालपोत अधिकृत बद्रीराज ढकालको १० करोड रुपैयाँ अकुत सम्पत्ति

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालले झन्डै १० करोड रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियारले मंगलबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अधिकृत ढकालले सो सम्पत्ति लुकाउनका लागि सालीदेखि जेठानसम्मलाई प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । शाखा अधिकृतको पदमा बढुवा भएका ढकालले निजामती सेवामा प्रवेशपश्चात् मालपोत कार्यालयहरू तनहुँ, कास्की, डिल्लीबजार काठमाडौं, पर्सासमेतमा काम गरेका थिए । पछिल्लो समय उनी मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत थिए ।

उनले १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारले जनाएको छ । ढकालले नातामा साली पर्ने व्यक्तिको नाममा गाडी खरिद गरेर आफूले चलाएको समेत पाइएको छ ।

उनले अकुत सम्पति लुकाउने छिपाउने उद्देश्यले हाल अस्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैंकमा खाता खोली खाता खोलेकै दिन खाता सञ्चालकबाट खाता सञ्चालनको अनुमति लिएर प्रयोग गर्दै आएको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ढकालले जेठान नाता पर्ने नवराज अर्यालको जनता बैंकको खातामा ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ जम्मा गरेको पाइएको थियो ।

उनले तनहुँ जिल्ला मालपोत कार्यालयमा कार्यरत हुँदा तनहुँकै डेकबहादुर गुरुङलाई प्रभावमामा पारेर उनकी श्रीमतीसमेतको नाममा दर्ता भएको जग्गा खरिद बिक्री नगरी आफ्नो नाममा ल्याएको पाइएको छ । सोही जग्गा सरकारी न्यूनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोबार देखाइ आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्यधिक मूल्य खुलाई गुरुङकी सहोदर दिदी, भिनाजु र बहिनीसमेतका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरेको पाइएको छ ।

उनले हुँदै नभएको खरिद बिक्री कारोबारमा १ लाख ९७ हजारको लगानी गरेको र लगानीको केही दिन र महिनाको अन्तरमा १ करोड ६८ लाख आर्जन गरेको देखाएका छन् । यसरी उनले झन्डै साढे १० करोड अकुत सम्पत्ति कमाएको अख्तियारले जनाएको छ ।

अस्थायी शिक्षकदेखि मालपोत अधिकृतसम्म
१ माघ २०५४ मा अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी ढकाल मालपोत कार्यालय लमजुङबाट खरिदारको पदमा मिति २०५५ असोज १६ गते स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका थिए । उनले २२ वर्षको अन्तरालमा १० करोड रुपैयाँ अवैध सम्पत्ति जोडेको खुल्न आएपछि अख्तियारले ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

श्रीमती र जेठानविरुद्ध पनि मुद्दा
अख्तियारले सम्पत्ति जफतको प्रयोजनका लागि ढकालकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी विशेषमा मुद्दा दायर गरेको छ । ढकालले आर्जन गरेको सम्पत्ति उनीहरूको नाममा रहेकाले जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई प्रतिवादी बनाइएको हो ।

ढकालको लगानी
श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा ४ करोड ५४ लाख १७ हजार २४४ रुपैयाँ
घर निर्माण र घरमा रहेको फर्निचर तथा फर्निसिङ एवं इलेक्ट्रोनिक उपकरणहरू समेतमा १ करोड १ लाख ५३ हजार ८१ रुपैयाँ
पुँजीगत लाभ तथा आयकर ७ लाख ९० हजार १३० रुपैयाँ
विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक सेयर खरिदमा १ करोड ११ लाख ४६ हजार ७०१ रुपैयाँ
सन्ततिको अध्ययनमा १ लाख ६० हजार रुपैयाँ
जीवन बिमा प्रिमियम शुल्कमा ९ लाख २४ हजार ६४० रुपैयाँ
विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका कर्जा चुक्तामा ६४ लाख ६३ हजार ५११ रुपैयाँ
सवारी साधन खरिद तथा सञ्चालन समेतमा २८ लाख २२ हजार ७०० रुपैयाँ
सुन खरिदमा १७ हजार ३०० रुपैयाँ
सरसापटी व्यवहारमा २० लाख रुपैयाँ
जेठान नाताका नवराज अर्यालको नाममा बैंक खाता खोली सो खाता सञ्चालन गर्नेलाई आफू एवं विभिन्न व्यक्तिहरूको नामबाट रकम जम्मा गरे गराएका स्रोत नखुलेको मौज्दात रकमहरूबाट ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ
विविध शीर्षक (अभिलेखमा देखिने शीर्षकका खर्चहरूबाहेक निजले खुलाइदिएका अन्य विविध खर्च) र साथमा रहेको नगद समेत २ करोड २४ लाख २६ हजार ६८९ रुपैयाँ
निजी विदेश भ्रमणमा ९२ हजार ३०० रुपैयाँ
बैंक खाताहरूमा अन्तिम मौज्दात रकम २ लाख ६८ हजार ९०८ रुपैयाँ
सोही जाँच अवधिमा ढकालको पारिश्रमिक तलब एवं विभिन्न अतिरिक्त भत्तालगायतका बचत र सबै परिवारको हिसाब गर्दा ४ करोड आय ४९ लाख ४४ हजार १ सय ६० मात्र वैध भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

ढकालको वैध आय
श्रीमती सिर्जना अर्याल ढकालको पारिश्रमिक बचत आयबाट ७७ हजार ३ सय ६७, ढकालको वैदेशिक बचत आयबाट १ लाख रुपैयाँ
कर्मचारी सञ्चयकोष तथा बैंकबाट लिएका कर्जा ६८ लाख ९१ हजार ७ सय ५१ रुपैयाँ
घरबिक्रीबाट १ करोड १५ लाख रुपैयाँ
जग्गा बिक्रीबाट १ करोड ८ लाख ६७ हजार रुपैयाँ
२ सय सेयर बिक्रीबाट ६ लाख ९९ हजार २३० रुपैयाँ
सवारी साधन बिक्रीबाट १२ लाख ९६ हजार रुपैयाँ
कृषि आय १ लाख २७४ रुपैयाँ
माथि उल्लिखित आय मात्र वैध देखिँदा सोभन्दा बढी देखिएकाले रकमहरूको स्रोत खुल्न नआई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै ढकालसँग सोही बराबर बिगो, जरिवाना र भ्रष्टाचार निवारण ऐनअनुसार सजाय गर्न माग गरिएको छ । राजधानी

Facebook Comments Box