सामाजिक सञ्जालबाट गरिने धर्ना र जुलुसको अव्हानप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । विगत केही दिन अगाडिदेखि सामाजिक सञ्जालबाट धर्ना र जुलुसका लागि गरिने अव्हानप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

बिहिवार सयाैंकाे संख्यामा युवाहरूले प्रधानमन्त्री निवास बालुवाटार अगाडि सरकार विरूद्ध प्रदर्शन गरेपछि सरकारले यस्ताे विज्ञप्ति जारी गरेकाे हाे । सरकारकाे  कार्यशैली र काेराेना महामारीका नाममा भइरहेकाे भ्रष्टाचारकाे विराेध गर्दै युवाहरूले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका थिए ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ बन्दाबन्दीको (Lockdown) आदेशको अवहेलना गर्ने वा काममा बाधा र्पुयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, 2020 को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा समेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ ।’


प्रेस विज्ञप्तिको पूर्णपाठः–

प्रेस विज्ञप्ति

विश्वव्यापी महामारीको रुप लिएको कोभिड(१९ संक्रमणको जोखिमबाट नागरिकहरुको जीवन रक्षाका लागि नेपाल सरकार ९मन्त्रिपरिषद्० को मिति २०७६ चैत्र ९ गतेको निर्णयले मिति २०७६ चैत्र ११ गतेदेखि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी भएको बन्दाबन्दीको आदेश (Lockdown) ले निरन्तरता पाई हालसम्म पनि कायमै रहेको व्यहोरा सबैलाई जानकारी नै छ । यस अवधिमा विभिन्न कठिनाईहरुका बावजुद पनि नेपाल सरकारको आदेशको परिपालना गरी गराई कोभिड–१९ को जोखिमबाट आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौं ।

तर विगत केही दिन अगाडीदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चि स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको आदेश बमोजिम आवश्यक काम नपरी हिंडडुल गर्न नहुने, हिंडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगायत स्यानिटाइजरहरु प्रयोग गर्नुपर्ने, अनावश्यक भिडभाड नगर्ने, नगराउने भनी उल्लेख भएकोमा उक्त प्रावधानको प्रतिकुल कार्यहरु भए गरेको देखिएको छ । बन्दाबन्दीको (Lockdown) आदेशको अवहेलना गर्ने वा काममा बाधा र्पुयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, 2020 को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा समेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ ।

प्रस्तुत पृष्ठभुमिमा नेपाल सरकारले जारी गरेको बन्दाबन्दीको आदेश (Lockdown) विपरीत हुने गरी कुनै पनि काम कारबाही नगर्नु नगराउनु हुन वा कुनै पनि बहानामा संलग्न समेत नरहनुहुन सम्बन्धित सबैलाई विनम्र अनुरोध गरिन्छ । नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले उक्त ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बाध्य हुनुपर्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

केदारनाथ शर्मा
सहसचिव / प्रवक्ता
मितिः २०७७।०२।२९

Facebook Comments Box