सिडिओको निर्णय : ‘अर्को निर्णय नभएसम्म उपत्यकामा पसल बन्द गर्ने’, व्यवसायीसँग वार्ताको तयारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि पसल खुल्न थालेपछि बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले अर्को निर्णय नभएसम्म पसल बन्द गराउने निर्णय गरेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अर्को निर्णय नभएसम्म लकडाउन कार्यान्वयन गर्ने अर्थात पसल बन्द गर्ने निर्णय भएको बताइन् । उपत्यकामा पसल खोलिएको विषयलाई उच्चस्तरीय समन्वय समितिलाई जानकारी गराउने पनि उनले जानकारी दिइन ।

आजदेखि व्यवसायीले आफूखुसी पसल खोलेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेको थियो । बैठकले सरकारले अर्को निर्णय नगरेसम्म अहिले जारी लकडाउन कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय लिएको छ ।

सरकारले लकडाउनको मोडालिटीमा निर्णय नलिए पनि काठमाडौंको न्युरोडका व्यवसायीले आजदेखि लकडाउनको उल्लंघन गर्दै पसल सञ्चालन गरेका छन् ।

सरकारले लकडाउन खोल्ने विषयमा कुनै तदारुकता नदेखाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघको आव्हानमा पसल खोलिएको व्यवसायीले बताएका छन् । न्युरोडका पसल बिहानदेखि सञ्चालनमा आएका छन् । तर पूर्णरुपमा भने खुलेको छैन ।

महासंघका अध्यक्ष नरेश कटुवालले अबदेखि हरेकदिन बिहान ११ बजेसम्म पसलहरु खोलिने जानकारी दिएका छन् । नेपालमा अझै लामो समय यही किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरु व्यवसायबाट पलायन मात्र होइन रोजीरोटी नै गुम्ने खतरा पैदाभएकाले आफूहरुले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

महासंघले सामाजिक दूरी कायम गर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पूरागर्नेगरी पसल सञ्चालन गरेको जनाएकाे छ ।चैत ११ गतेदेखि जारी लकडाउन पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि थपिएको छ ।

यसैबीच व्यापारीहरुले एकतर्फी निर्णय गरेर सबै प्रकारका पसलहरु खुला गरेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले छलफल थालेका छन् । आज नै व्यवसायीसँग वार्ताको तयारी छ ।

नेपाल राष्ट्रिय व्यावसायी महासंघको आह्वानमा बिहीबार बिहानदेखि काठमाडौंका विभिन्न ठाउँका पसलहरु सञ्चालन भएका छन् ।

फोटो: नागरिक खबर
Facebook Comments Box