काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दाहालसँगै भुवन केसी र राजेश थापा (तीन जना) को नाम सिफारिस गरेको थियो । गत बिहीबार मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो ।
भुवन केसी, दयाराम दाहाल र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दिएका थिए ।
१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिले मन्त्रिपरिषद समक्ष तीनजनाको नाम सिफारिस गरेको थियो ।