लकडाउन आइतबारदेखि क्रमश खुल्दै, असार १ गतेदेखि व्यवसाय पनि खुलाउने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकारले आइतबारदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समन्वय समितिले आइतबारदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको हो । असार १ गतेदेखि भने व्यवसायलाई पनि विभिन्न ५ समूहमा विभाजन गरेर खुलाउने तयारी गरिएको छ ।

भोलिसम्ममा समितिले लकडाउन खुकुलो बनाउने आफ्नो प्रस्तावलाई अन्तिमरुप दिनेछ । मन्त्रिपरिषद् बैठकले पनि समितिलाई मोडालिटी तयार गर्नका लागि निर्देशन दिएको थियो । समितिले आइतबारदेखि नै लागू हुनेगरी हरेक व्यक्तिबीच १ मिटरको दूरी राख्ने र आवश्यक स्वास्थ्य सुरक्षाका उपायको अवलम्वन गरेर बन्द भएका विभिन्न क्षेत्रका पसल व्यवसाय सञ्चालन गर्ने तयारी गरेको छ ।

दैनिक उपभोग्य सामग्रीबाहेकका अन्य क्षेत्रका पसल तथा डिमार्टमेन्टल स्टोरहरु पनि सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्ने गरी समितिले प्रस्ताव तयार गरेको छ । कपाल काट्ने सैलुन, बन्द अस्पतालहरु, प्रयोगशाला तथा निजी क्लिनिकहरु खोल्ने तयारी गरिएको छ ।

सवारी साधनको हकमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सञ्चालन गर्न दिने गरी छलफल चलिरहेको समितिका सदस्य रहेका एक मन्त्रीले जानकारी दिए । तर असार १ गतेदेखि भने आन्तरिक हवाइ यातायात, लामो दूरीका सवारी साधनलगायत अत्यावश्यक बाहेकका क्षेत्र पनि सञ्चालनको तयारी गरिएको छ । यी क्षेत्रले पनि सरकारले बनाएको मापदण्डको पालना गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय उडान पनि असारको दोस्रो हप्तादेखि निश्चित मापदण्डका आधारमा खोल्ने तयारी गरिएको समिति स्रोतले जनाएको छ । उच्चस्तरीय समितिको सिफारिसका आधारमा भोलि बेलुकी वा आइतबार मन्त्रिपरिषद् बसेर आवश्यक निर्णय लिने ती मन्त्रीले जानकारी दिए ।

Facebook Comments Box