एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्म ६८ लाख २६ हजार नाघेको छ । त्यस्तै मृतकको संख्या ३ लाख ९७ हजार नाघेको छ ।
यसै सन्दर्भमा हालै मात्र लकडाउन खोलेको मुलुक ब्राजिल कोरोना महामारीको नयाँ केन्द्र बनेको छ । पछिल्लो २४ घण्टामा १४७३ जनाको मृत्युसंगै ब्राजिलले ईटलीलाई पछि छाडेको छ ।
मृतकको तथ्यांक अनुसार ब्राजिल विश्वकै तेस्रो स्थानमा आइपुगेको छ । यहाँ हालसम्म ३५ हजार बढीको मृत्यु भैसकेको छ । त्यस्तै कुल संक्रमितको संख्या ६ लाख ४५ हजार नाघेको छ ।
वोल्डोमिटरले जारी गरेको तथ्यांक अनुसार बढी मृत्यु हुने मुलुक अमेरिकामा १ लाख ११ हजार बढीले ज्यान गमाइसकेका छन भने दोस्रो स्थानमा रहेको ब्रिटेनमा ४० हजार बढीले ज्यान गुमाइसकेका छन ।
दिनानुदिन मृतकको संख्या बढ्दै गैरहेको मुलुक ब्राजिलमा हालसम्म गरिएको परीक्षण मध्ये ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिनु अर्को ठूलो समस्या बनेको छ ।