गण्डकीमा कोरोना सङ्क्रमण पुष्टि भएका ७५ जना मध्ये अधिकांश विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरू

खवर पाटी (खोज खबरको अभियान)

पोखरा, जेठ २५  । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुने अधिकांश व्यक्ति क्वारेन्टाइनमा बसेका रहेका छन् ।
शनिबारसम्म गण्डकी प्रदेशका सङ्क्रमण पुष्टि भएका ७५ जनामध्ये अधिकांश व्यक्ति विदेशबाट आएर क्वारेन्टाइनमा बसेका भएकाहरू रहेको पाइएको छ ।
गण्डकी प्रदेशका जिल्लामध्ये सबैभन्दा पहिले बागलुङमा गत चैत १५ गते एक युवतीलाई सङ्क्रमण पुष्टि भएको थियो । मुलुककै पाँचाँै सङ्क्रमितका रूपमा पुष्टि भएकी युवती र चैत २० गते छैटौँ सङ्क्रमितका रूपमा पुष्टि भएकी एक महिला निको भएर घर फर्किसकेका छन् ।
ती दुवैजना सङ्क्रमित कतार एयरवेजको विमानमा बेल्जियमबाट आएका थिए । नेपालमा दोस्रो सङ्क्रमण पुष्टि भएपछि उनको कन्ट्र्याक ट्रेसिङका क्रममा दुईजनालाई कोरोना पुष्टि भएको थियो । गण्डकी प्रदेशमा सुरुकै चरणमा कोरोना सङ्क्रमण देखिएपछि सबै विदेशबाट आएका, सङ्क्रमितको सम्पर्कमा रहेका र सङ्क्रमणको लक्षण देखिएका सबैको आरडीटी तथा पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पहिलो चरणमा सबैको परीक्षण सकिएपछि केही सहज भए तापनि पछिल्लो समय भारतबाट आउनेहरूको सङ्ख्या अत्यधिक बढ्न थालेपछि सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको हो ।
शनिबारसम्म सङ्क्रमण पुष्टि भएका स्याङ्जाका सबै २३ जना, बागलुङका १९ मध्य १६ जना, नवलपरासी पूर्वका १३ मध्य १२ जना, कास्कीका तीन, तनहुँका तीन, म्याग्दीका दुईजना भारतबाट आएर सिधै स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरू रहेका छन् ।

सङ्क्रमण कसरी भयो भन्नेबारे अध्ययन सुरु
बागलुङका दुईजना बेल्जियमबाट आएकाको कन्ट्र्याक टे«सिङ गर्दा कोरोना सङ्क्रमण देखिए पनि काठमाडौँमा कोरोना सङ्क्रमण पुष्टि भएका लमजुङका एक बालकलाई कहाँबाट कोरोनाको सङ्क्रमण भयो भन्ने पत्ता लाग्न सकेको छैन । बागलुङमा दुईजनामा कोरोना सङ्क्रमण देखिएको दुई हप्तापछि भारतबाट ट्रकमा नेपाल भित्रिएका नवलपरासीका एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछिको एक महिनामा सङ्क्रमितको सङ्ख्या शून्य रहेको यस प्रदेशमा पछिल्लो समय भारतबाट आउनेहरूकै कारण सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको जनाइएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख पहिलो सातादेखि जेठको दोस्रो सातासम्म सङ्क्रमितको सङ्ख्या शून्य रहेको गण्डकी प्रदेशमा भारतमा रेल सेवा सञ्चालनमा आएपछि त्यहीबाट आउनेहरूमा सङ्क्रमण देखिएको छ ।
क्वारेन्टाइनमा बसेकाहरूमा सङ्क्रमण देखिएकाले गण्डकी प्रदेशमा त्रसित हुनुपर्ने अवस्था नरहे तापनि गण्डकी प्रदेशबाट उपचारका लागि काठमाडौँ गएका व्यक्तिमा सङ्क्रमण पुष्टि भएपछि केही असहज भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार अहिले हरेक स्थानीय तहका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दै गइरहेकै बेला सङ्क्रमितसमेत बढ्दै गइरहेका छन् । पछिल्लोपटक शनिबार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्याङ्जाका १०, कास्कीका तीन, नवलपरासीका तीन र बागलुङका एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्याङ्जामा पुष्टि भएका १० जनामध्ये तीनजना एकै घरका रहेका छन् ।
जेठ १५ गते कोरोनोका सङ्क्रमण पुष्टि भई पोखरामा उपचार गराएकी ३९ वर्षीय महिलाका श्रीमान् र देवरसमेतलाई सङ्क्रमण भएको वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँडले जानकारी दिनुभयो ।
जेठ ११ गते भारतको दिल्लीबाट एकै घरका चारजना स्याङ्जा आएका थिए । तीमध्ये तीनजनालाई सङ्क्रमण देखिएको जनाइएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासीको स्वाब भरतपुर अस्पताल चितवनमा परीक्षण गरिँदै आएको र अन्य जिल्लाको पोखरामै परीक्षण गरिँदै आएको छ । शनिबार पुष्टि भएका सबै सङ्क्रमितहरू भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू रहेका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि गरेका पोखरा महानगरपालिका वडा नं. ८ का एक व्यक्ति केही दिन अगाडि उपचारका लागि काठमाडौं गएका थिए । पोखरामै बेहोश भएर ढलेका ती व्यक्तिलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको थियो ।  गोरखापत्र

Facebook Comments Box