काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक सुरु भएसँगै नेताहरु सदनमा जानुपर्ने भन्दै बैठक स्थगित भएको छ ।
आजको बैठकमा ५ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्दै स्थायी कमिटी सदस्य लिलामणि पोखरेल र मात्रिका यादवले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।
आजको बैठकमा एनके प्रसाईँ, पेशल खतिवडा र योगेश भट्टराईले वार्ता र संवादबाटै नेतृत्वले निकास निकाल्नुपर्नेमा जोड दिएका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
त्यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा भोलिसम्मका लागि स्थगित गरेर वार्ता गर्ने विषयमा छलफल भएको थियो । त्यसैअनुसार आजको बैठक स्थगित गरेर भोलि बिहान ११ बजे फेरि स्थायी कमिटी बैठक बस्ने तय भएको स्रोतको दावी छ ।