सांसद सरिता गिरीलाई एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि बढाउन राष्ट्रिय युवा संघको माग

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : राष्ट्रिय युवा संघ, नेपालले संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि बढाउन माग गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संगठन ‘राष्ट्रिय युवा संघ, नेपाल’ले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित र सीमा सुरक्षा विपरित गिरीले अभिव्यक्ति दिएकाले कारबाही गर्न संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीलाई आग्रह गरेको हो।

‘नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको  तथ्य माननीय सरिता गिरीलाई  स्मरण गराउन चाहान्छौं।’ विज्ञप्तिमा भनिएको छ,  ‘संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघि संविधानको संरक्षण  र पालना गर्ने सपथ खाएको सांसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ।’

सांसद गिरीको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्ट्रहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपालले भर्त्सना गरेको छ।
गैर जिम्मेवार व्यक्तिलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन जनता समाजवादी पार्टीलाई आग्रह गर्दै युवा संघले आवश्यक कानूनी कारवाही अघि नबढाए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरिता गिरी र सम्बन्धित दल हुने चेतावनी दिएको छ।

सांसद गिरीले एक टेलिभिजन अन्तरवार्तामा लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्विकार नगर्ने बताएकी थिइन्। उनले नेपालले भारतसँग वार्ता नगरिकन नक्सा जारी गर्न नहुने बताउँदै आएकी थिइन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समेत सांसद गिरीको चर्को आलोचना भएको थियो। उनको पछिल्ला अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा समेत विरोध हुन थालेको छ।

युवा संघले रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाको निष्पक्ष अनुन्धान गरी दोषीउपर कडा कारवाही गर्न माग गरेको छ।  यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणले अस्पतालको असंमवेदनशिलता र राज्यको उत्तरदायित्वमाथि निर्मम प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘अस्पताल प्रशासनमाथि छानविन गर्न र आउजीको परिवारमा क्षतिपुर्तिको व्यावस्था गर्नसमेत माग गर्दै संगठनका तर्फबाट उनको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा समेत गर्दर्छौ।’ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीका कारण गुम्नसक्ने रोजगारी र विपन्न युवा तथा बेरोजगार एवं नागरिकहरुले उठाउनसक्ने यस्ता निर्मम र आत्मघाति कदमप्रति राज्य जिम्मेवार रहेर अभिभावकको नेतृत्वदायी भुमिका निभाउने दायित्वमा नचुक्न अपिल गर्दर्छौ।’

Facebook Comments Box