थप २ सय ५० जनामा  कोरोना पुष्टी, संक्रमितको संख्या ४६ सय १४, डिस्चार्ज हुनेको संख्या ८ सय ६१

खवर पाटी (खोज खबरको अभियान)

२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा  कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

यस्तै  कर्णालीमा बिहीबार थप ५५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ ।

कर्णालीका संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ भने ६० जना निको भएर घर फर्किसकेका छन् । बिहीबार मात्रै कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका ३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।

यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् । उनीहरुसहित कर्णालीमा डिस्चार्ज हुनेहरुको संख्या ६० पुगेको हो ।

कुन जिल्लाका कति संक्रमित ?

कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ । हालसम्म सबैभन्दा धेरै दैलेखका ४३४ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितको संख्या सल्यानमा १३७, सुर्खेतमा ११२, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, डोल्पा र हुम्लामा एक/एक रहेको छ । प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा भने हालसम्म कोरोना संक्रमण देखिएको छैन ।

Facebook Comments Box