बुटवल । प्रदेश ५ को प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो ।
बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले बजेटमा कोभिड-१९ बाट उत्पन्न आर्थिक मन्दीबाट शिथिल बनेको प्रदेशको अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्नेलगायत चार उद्देश्य र स्वास्थ्य क्षेत्रको स्तराेन्नति र विस्तार गरी स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच वृद्धि गर्नेलगायत सात प्राथमिकता रहेको बताउनुभयो ।
गत वर्ष प्रदेश सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटअन्तर्गत चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् कुल बजेटको ३४ दशमलव ६४ प्रतिशत र पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख अर्थात् ५१ दशमलब २२ प्रतिशत रहेको छ ।
मुख्यमन्त्री पोखरेलले स्थानीय तह वित्तीय हस्तान्तरण कार्यक्रमतर्फ पाँच अर्ब १४ करोड ५० लाख रुपैयाँ छुट्याएको जानकारी दिनुभयो । वित्तीय हस्तान्तरणको अंश कुल विनियोजित बजेटको १४ दशमलव १४ प्रतिशत रहेको छ ।
उहाँले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका कारणले यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा सीमित हुने अनुमान गरिएको बताउनुभयो । त्यसैगरी, चालु आर्थिक वर्षमा प्रदेशको कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको मुख्यमन्त्रीको बजेट भाषणमा उल्लेख छ ।
मुख्यमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक श्रोत र राजस्ववाट दुइ अर्ब तीन करोड ७५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ३४ करोड दुइ लाख र रोयल्टी बाँडफाँडबाट ८८ करोड ५६ लाख र सशर्त अनुदानबाट पाँच अर्ब ८८ करोड ३६ लाख, समपुरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालू आर्थिक वर्षको बचत रकमबाट सात अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।