‘म्याच फिक्सिङ’को आरोपी राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापालाई सर्वोच्च अदालतले मङगलबार सफाइ दिएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता पोखरेलले विशेष अदालतकै फैसलालाई सर्वोच्चले सदर गरेको जानकारी दिनुभयो । विशेष अदालतले यसअघि पाँच जना खेलाडी र एक प्राविधिक गरी छ जनालाई उक्त अभियोगमा निर्दोष ठहर गर्दै २०७५ साल जेठ २४ गते सफाइ दिएको थियो ।
सरकारी अभियोजन पक्षले २०७५ मङ्सिर २० मा उक्त विशेषको फैसलालाई चुनौती दिँदै सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
नेपाल प्रहरीले राष्ट्रिय टोलीबाट खेल्दा म्याच फिक्सिङ गरेको दाबीसहित विशेष अदालतमा पाँचै जना खेलाडी र फिजियोथेरापिष्टमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । नेपालमा म्याच फिक्सिङ सम्बन्धी कानुन नहुँदा छ जनैमाथि राज्यविरुद्धको अपराधको मुद्दा चलाइएको थियो ।
प्रहरीले पक्राउ गरेर मुद्दा चलाए लगत्तै नेपालमा फुटबल नियमन गर्ने निकाय एन्फा र सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघले पाँचै जना खेलाडीलाई निलम्बन गरेको थियो ।

Facebook Comments Box