अचानक भारत हिँडेकी समाजवादीकी सांसद सरिता गिरी सीमानाकाबाटै फिर्ता

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अचानक भारत हिँडेकी समाजवादीकी सांसद सरिता गिरी सीमानाकाबाटै फिर्ता भएकी छन् । आफ्नो बुबा बिरामी भएको भन्दै भारततर्फ जान खोजेकी उनलाई सिरहाको ठाडी नाकाबाट सुरक्षाकर्मीले फिर्ता गरेका छन् ।

नेपालविरुद्ध भारतीय मिडियामा अन्तरवार्ता दिएर चर्चामा आएकी उनी सांसद पदबाट हटाउने तयारी भएपछि बुबा बिरामी भएको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिएकी थिइन् । सीमा नाकाबाट पनि उनले आफ्नो बुबा बिरामी भएको भन्दै भारत जाने प्रयास गरेकी थिइन् । सुरक्षाकर्मीले निश्चित सीमा क्षेत्रबाट मात्रै आवतजावत गर्न पाउने व्यवस्था भएकाले जान नमिल्ने भन्दै फिर्ता गरेका थिए ।

सिरहाको ठाडी नाकाबाट जान खोजेपछि उनलाई सुरक्षाकर्मीले नेपालतर्फ नै फिर्ता गरेका थिए । उनी त्यसपछि कहाँ गइन् भन्ने कुरा आफूलाई जानकारी नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईँले जानकारी दिए ।

समाजवादी पार्टीले सांसद पदबाटै हटाउने तयारी गरेपछि बिहारबाट चुनाव लड्नेगरी जान्छु भनेर केही नेतालाई धम्की दिएर गिरी भारततर्फ गएको स्रोतको दावी छ ।

समाजवादी पार्टीले पार्टीको ह्वीप अनुसार संविधान संशोधनको पक्षमा मतदान नगरेपछि उनलाई कारबाहीको तयारी गरेको थियो । उनलाई प्रष्टिकरण दिएपछि कारबाही गर्ने तयारी भए पनि अब उनी समाजवादीको बैठकमा उपस्थित नहुने चेतावनी दिएकी समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।

भारतले अतिक्रमण गरेको भूमिसहितको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अध्यावधिक गर्न भएको संविधान संशोधन गर्ने संसद बैठक उनले बहिष्कार गरेकी थिइन् । उनले संविधान संशोधन विधेयकमा संशोधन हाले पनि सभामुख अग्नि प्रसाद सापकोटाले उनको प्रस्तावलाई अस्वीकृत गरिदिएका थिए ।

Facebook Comments Box