नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको बीओपी औपचारिक रुपमा स्थापना

खवर पाटी (खोज खबरको अभियान)

सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको बीओपी औपचारिक रुपमा स्थापना हुँदा हुम्लावासीमाझ खुसीयाली छाएको छ । आवश्यक व्यवस्थासहित सीमा सुरक्षा चौकी (बीओपी ) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमा आएको टोलीले सिमाना हिल्सामा पुगेर चौकीको स्थापना गर्दा हुम्लावासीमा हर्षित भएका छन् ।
देशभरका सीमा क्षेत्रमा बीओपी स्थापना गर्ने क्रममा नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा पहिलो पटक सीमा सुरक्षा चौकी स्थापना भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) प्रजाभक्त श्रेष्ठले बताउनुभयो । उहाँले एक औपचारिक कार्यक्रमबीच सीमा चौकीको उद्घाटन गर्नुभएको थियो । सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नु बीओपीको पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो ।

त्योसँगै अब चौकीले दुई देशका विरुद्ध हुने गतिविधिहरूको पनि निगरानी राख्नेछ । यसअघि डिआईजी श्रेष्ठको टोली काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम सिमकोट आएर हिल्सातर्फ गएको थियो । हाललाई चौकीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली बस्ने बताउँदै डिआईजी श्रेष्ठले कर्णाली प्रदेशका सिमा जोडिएका जिल्लामध्ये पहिलो बीओपी हुम्ला जिल्लाको हिल्सा नाकामा स्थापना भएको बताउनुभयो ।

सीमा सुरक्षा चौकी हाललाई भाडाको घरमा बस्नेछ । शनिबारै चौकीका लागि यसअघि सिमकोट पुगेको बस्दोबस्तीको सामान, खाद्यान्न र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट हिल्सा ओसारिएको थियो । केही दिनअघि मात्र बीओपी स्थापनाका लागि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वको टोली हिल्सा पुगेर आवश्यक बन्दोबस्ती गरेको थियो ।
आर्थिक तथा पर्यटकीय सिजनमा बीओपीको स्थापनाले धेरै पक्षको नियन्त्रण र सीमा नियमनमा महत्वपूर्ण योगदान पुग्ने प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताउनुभयो । देशको सीमा जोडिएको स्थापनामा सीमा सुरक्षा चौकी स्थापना हुनु हुम्लावासीको लागि गौरवको विषय भएको प्रजिअ गिरीले बताउनभयो ।

कोरोना कहरले गर्दा अहिले अन्य कुनै गतिविधिहरू भने नबढेकाको उहाँले बताउनुभयो । मोबाईल तथा फोन सम्पर्क नहुने हिल्सामा सशस्त्र प्रहरीले सञ्चार सेटबाट सम्पर्क गर्नेछ । सीमामा व्यवस्थित रुपमा बीओपी स्थापना हुँदा हुम्लावासीमा खुशीयाली छाएको हिल्साका होटेल व्यवसायी कर्मा लामाले बताउनुभयो । गतवर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न प्राविधिक कारणले चौकी स्थापना हुन सकेको थिए । केही समयअघि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको टोली चार हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोलेर हिल्सा पुगेको थियो ।

Facebook Comments Box