‘पार्टी एकता गर्दा हामीले के सम्झौता गरेका थियौँ र अहिले कहाँ छौँ, अब को जिम्मेवार बन्नुपर्ने ?’ -अध्यक्ष प्रचण्ड

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारदेखि सुरु स्थायी कमिटी बैठकमा मन्तव्य राख्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गर्दाको सहमतिको स्मरण गराएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य राखेपछि आफ्नो धारणा राख्न सुरु गरेका प्रचण्डले नेतृत्वले गम्भीर भएर नसोचेमा अब पार्टी नै समाप्त हुने चेतावनी दिए ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डले आफ्नो मन्तव्यमा आफूले पार्टी एकता र सरकारलाई सफल पार्नका लागि गरेका सम्झौताको विस्तार लगाएका थिए । बैठकमा प्रचण्डले भने ओलीलाई लक्षितगर्दै पार्टी एकताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए । प्रचण्डले भने, ‘पार्टी एकता गर्दा हामीले के सम्झौता गरेका थियौँ र अहिले कहाँ छौँ । सुरुमा एकजना अध्यक्ष एकजना प्रधानमन्त्री भन्ने कुरा थियो । लिखित नै गरेर फेरि आधा-आधा कार्यकाल सरकारको नेतृत्व भन्ने भयो । त्यसपछि एउटाले पार्टी र अर्काले सरकार भन्ने भयो । मैले यी सबै छाडेको छु । अब को जिम्मेवार बन्नुपर्ने ?’

पार्टी एकता गर्दाको सहमतिबाट आफू लचिलो हुँदा ओलीमा अहंकार बढेको प्रचण्डले सुनाए । उनले भने, ‘सम्झौता कार्यान्वयन गर्न मैले अडान नलिनु गल्ती भयो । पार्टी एकता बलियो बनाउन मैले सम्झौतामा लचिलो बन्दा त्यसले पार्टीलाई लाभ दिए । अर्का अध्यक्षमा अहंकार बढ्यो । मैले सहमतिलाई छाडेर गल्ती गरेको रिइलाइज गर्छु । सबैले गल्ती स्वीकार गरेर आगामी बाटोमा जानुपर्छ ।’

आगामी विकल्पका विषयमा गम्भीर हुँदै प्रचण्डले दुईवटा विकल्प प्रस्तुत गरे । उनले भने, ‘हामीसँग अब दुईवटा विकल्प छ । एउटा संघर्ष गर्दै जाने र पार्टी फुटमा जाने । त्यो विकल्प सोच्न पनि हुँदैन । अर्को विकल्प एकतावद्ध भएर जानुपर्छ । एकतावद्ध त्यागले मात्र सम्भव छ अहंकारले छैन । पार्टी अध्यक्ष र प्रधानमन्त्रीजी पनि त्यागका लागि तयार हुनुपर्छ । हामी सबैले त्याग गरेमात्र एकता सम्भव छ । त्यसका लागि सबैले जोड दिनु आवश्यक छ ।’

प्रचण्डले आम नागरिक र नेता कार्यकर्तामा आएको निराशालाई परिवर्तन गर्न नसकिएमा अबको साढे दुई वर्षमा पार्टी नै समाप्त हुने बताए । उनले भने, ‘हामीले प्रभावकारी काम गर्न नसक्दा जनता र आम कार्यकर्तामा निरासा छाएको छ । यस्तै तरिकाले काम गर्ने र यस्तै खालको अवस्था रहेमा हाम्रो पार्टी अबको ढाइ वर्षमा समाप्त नै हुन्छ । जनताले मूल्याङ्कन गरिरहेका छन् । त्यसैले सुधारको आवश्यकता छ । अहिलेको जस्तो कामले पार्टी माथि जाँदैन ।’  नागरिक

Facebook Comments Box