हामी राष्ट्रिय स्वाधीनताको संघर्षमा छौ । यो लडाइ जनतन्त्र स्थापना गर्नु भन्दा जटिल छ, -प्रभाकर

खवर पाटी (खोज खबरको अभियान)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले अहिले कुर्सी फेरेर होइन समस्या समाधान नहुने उल्लेख गर्दै नेतृत्वले चिन्तन बदल्नुपर्ने बताउनुभएको छ । जारी स्थायी समिति बैठकमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

जीवनमा पहिलोपटक लगाएको नाराको सम्झना

आफूले राजनीतिको प्रारम्भिक चरणमै ‘जनतन्त्र र जनजीविकाको ग्यारेन्टी गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर’ भन्ने नारा लगाएको स्मरण गर्दै उहाँले आज त्यही नारा पूरा गर्ने ठाउँमा रहेकाले यसका लागि आवश्यक कार्यक्रम जरुरी रहेको बताउनुभयो ।

नेता प्रभाकरले थप्नुभयो– ‘आज म उक्त नारा लगाउने ठाउँमा होइन त्यो पूरा गर्ने पार्टीको सदस्य छु । मैले पढेका हरेक राजनैतिक प्रतिबेदनहरु राष्ट्रलाई अर्ध सामान्ती र अर्ध औपनिवेशिक अबस्थाबाट मुक्त गर्ने भन्ने थिए । ७० वर्षको राजनीतिक संघर्ष जनयुद्ध,जनआन्दोलन हुँदै संबिधान सभाबाट नयाँ संबिधानको घोषणा पश्चात् संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भए संगै अर्ध सामान्ती अवस्थाको अन्त र जनतन्त्रको स्थापना भएको छ । यद्यपि यसलाई सुदृढीकरण गर्न र सामान्ती अवशेष विरुद्ध निरन्तर संघर्ष आवश्यक छ । तर राष्ट्रिय स्वाधीनताको लडाइ अझै पूरा भएको छैन । यति बेला हामी राष्ट्रिय स्वाधीनताको संघर्षमा छौ । यो लडाइ जनतन्त्र स्थापना गर्नु भन्दा जटिल छ ।’

‘सिमा रक्षाका लागि सिमानाका जनता मूल पिलर’
आत्मनिर्भर अर्थतन्त्रविना यो संभव नहुने तर्क अघि सार्दै उहाँले सिमा सुरक्षाकर्मी मात्र होइन सिमाका जनतालाई बलियो बनाउनुपर्ने बताउनुभयो । ‘बिदेशी हस्तक्षेप,सिमा अतिक्रमण लगायतका कुराहरु जो अहिले कालापानी र देश भरिको सिमा अतिक्रमणको बिषयमा संघर्षमा छौं । यसका लागी हामीले जनतालाई सुसंगठित र एकताबद्ध परिचालन गर्दै कुटनैतिक,राजनैतिक,जनदबाबको एकीकृत योजना बनाउनु पर्छ । मुख्य कुरा वार्ता बाटै समस्याको समाधान खोज्ने हो । सिमा रक्षाका लागी मुलत सिमानाका जनता नै हाम्रा मुल आधार (पिलर) हुन । ती जनताको दैनिक जीवन संचालनको सुबिधा र सुरक्षाको ग्यारेन्टी हुने गरि सरकारले नीति तथा योजना बनाउनु पर्छ । बिओपीले मात्र सिमा रक्षा हुदैन जनतालाई पनि जोडनु पर्छ । अहिले अरु पर्खाल भन्दा डिजिटल पर्खाल बनाउन जरुरी छ । जसले दुबै देशको सुरक्षा संबेदनसिलतालाई समेत सम्बोधन गर्छ । दुई देशका जनता बिचको सम्बन्ध,आवश्यकता र व्यवहारलाई पनि विश्लेषण गर्नु पर्छ ’– उहाँले भन्नुभयो ।

‘सामुदायिक र सामाजिक स्वामित्व स्थापना गर्ने गरी समाजवादी बाटो रोजौं’

आर्थिक आत्मनिर्भरता, समृद्धिको बाटो यसका लागि उदार अर्थतन्त्रको बाटो नभै समाजवादी सिद्धान्तका आधारमा योजनाबद्ध ढंगले उत्पादक शक्तिको बिकास गर्दै उत्पादनका साधनमाथि सामुदायिक र सामाजिक स्वामित्व स्थापना गर्ने बाटो अपनाउनुपर्ने धारण राख्दै उहाँले भन्नुभयो– ‘हाम्रा श्रोत साधनहरु नेपाली जनताले स्वतन्त्रतापूर्व त्यसको उपयोग र समृद्धिका लागि प्रयोग गर्न सक्ने अवस्था सृजना गर्नुपर्छ नकि कुनै शक्ति केन्द्रको योजनामा निजीकरण गर्ने, जनताले उपयोग गर्न नपाउने । यी दुई पाइलाहरु योजनाबद्ध चालेर मात्र आत्मनिर्भर र स्वाधीन राष्ट्र निर्माण गर्न सकिने उहाँको मत थियो ।

अहं छाडेर रुपान्तरित हुन जरुरी

कालापानी क्षेत्रमा नेपालको पूर्ण स्वामित्व कायम गर्न राजनैतिक र कुटनैतिक संवाद मुख्य भएको जनाउँदै उहाँले भन्नुभयो– ‘तर यसको एउटै शर्त छ– हामीले हासिल गरेको राष्ट्रिय एकता, जनतामा आएको उत्साहलाई कायम राख्न केही सर्तहरू छन् । त्यो भनेको हाम्रो पार्टीको आन्तरिक एकता हो । त्यो एकताका लागि हामी आ–आफ्नो अहं छाडेर रुपान्तरित हुन जरुरी छ । आफ्ना कमीकम्जोरी स्वीकार्न, आफैलाई सच्चाउने, छलफल बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने कुरामा रुचिपूर्वक लाग्नुपर्छ । राष्ट्रको भबिस्य रुपान्तरणका साथ एकताबद्ध हुनुमा छ । रुपान्तरणका लालागि पार्टीभित्र बहस, छ्लफल, आत्म आलोचना र संघर्ष आवश्यक छ । कुर्सी फेरेर समस्या समाधान हुँदैन चिन्तन बदल्नु पर्दछ । आजको बस्तुगत परिस्थिति अनुरुप जनता र देशको आवाजअनुसार आफैलाइ फेर्नु पर्छ । मुख्य गरी नेतृत्व टिमले त्यसमा पनि प्रमुख नेतृत्वले सही ढङ्गले सोच्नुपर्छ र व्यवहार गर्नुपर्छ । राष्ट्र र जनता नै मुख्य कुरा हो ।’

Facebook Comments Box