लिटल बुद्ध भनिने बम्जनलगायत ३ जनालाई बाल यौन शोषण अभियाेगमा मुद्दा दायर

खवर पाटी (खोज खबरको अभियान)

सर्लाही, असार १९ । लिटल बुद्ध भनिने रामबहादुर बम्जनलगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बम्जनलगायत तीनविरुद्ध अदालतमा बिहीबार बाल यौन शोषणकाे अभियाेगमा मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार रामबहादुर बम्जन भनिने रामलाल बम्जन, सर्लाहीको पत्थरकोटस्थित बोधी मार्ग दर्शन आश्रमका प्रमुख तोक्तेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जीतबहादुर तामाङविरुद्ध मुद्दा दायर भएको हो ।
मुद्दामा बालबालिकासम्बन्धी ऐन अनुसार प्रतिवादीहरूलाई कारबाहीको माग गरिएको छ । बालबालिकासम्बन्धी ऐन अनुसार मुख्य प्रतिवादी रामबहादुर बम्जनविरुद्ध १२ देखि १४ वर्ष कैद र क्षतिपूर्ति माग दावी गरिएको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सहायक न्यायाधिवक्ता युवराज शर्माले बताउनुभयो ।
बम्जनविरुद्ध सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोटस्थित आश्रममा एक १८ वर्षीया बालिकालाई यौन शौषण गरेको आरोप छ । सोही आरोपमा गत माघ महिनामा पीडितको तर्फबाट सर्लाही प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले सर्लाही, सिन्धुलीलगायत आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला परेनन् । बम्जन पक्राउ नपरेपछि प्रहरीले केही दिन पहिले अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।
सरकारी वकिल कार्यालयमार्फत बम्जनविरुद्ध बिहीबार अदालतमा मुद्दा दर्ता भएको हो । अब प्रतिवादी बम्जन ३५ दिनभित्र अदालतमा उपस्थित हुन सक्नेछन् । त्यस अवधिमा उनी आफैँ अदालतमा उपस्थित नभए पक्राउ पूर्जी जारी हुनेछ । गोरखापत्र

Facebook Comments Box