बुढीगङ्गा नदिमा रहेको झोलुङ्गे पुल डुबान भएपछि स्थानीयलाई आवतजावत गर्न समस्या

खवर पाटी (खोज खबरको अभियान)

बाजुरा, असार २२ । बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –२ ताँप्रीसेरा र त्रिवेणी नगरपालिकाको वडा नं –९ बाँगापाटाको बीचमा पर्ने ताँप्रीसेराको बुढीगङ्गा नदिमा रहेको झोलुङ्गे पुल डुबान भएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । असार २० गते राति परेको अविरल वर्षाका कारण पानीको बहाव बढेसँगै पुलमाथिबाट नदि बग्न थालेको छ ।
पुलमाथिबाट नदि बग्न थालेपछि त्रिवेणी र बुढीगङ्गा नगरपालिकाका स्थानीयलाई खोला वारपार गर्न निकै समस्या भएको हो ।
त्रिवेणी नगरपालिकाका –९ का दीपक साउदले भन्नुभयो, ‘त्रिवेणीका बाँगापाटा, ताम्सु, फेरागडा, मलालगाउँ, झालगाउँ लगायतका स्थानीयहरूको लागि यो पुल निकै सहज भएको थियाे । गएराति परेको पानीका कारण नदि पुलमाथि बग्न थालेपछि अब यहाँका स्थानीयहरूलाई आवतजावत गर्न निकै समस्या भएको छ ।’
उहाँले भन्नुभयो, ‘वर्षादको समयमा अलिकति पानी परे पनि नदीमा पानीको बहाव बढ्नगई पुलमाथि पानी हिँड्न थाल्छ जसले यहाँका स्थानीयलाई पुलमा आवतजावत गर्दा धेरै समस्या हुने गरेकाे ।’
त्रिवेणीका अधिकांश स्थानीयहरूको दैनिक कामकाजका लागि मुख्य बाटो यही रहेको र यसको विकल्पका लागि अन्य कुनै बाटो नभएकोले याहाँका मानिस यसै पुलमा जोखिमपूर्ण यात्रा गर्न भएका बाध्य छन् ।
स्थानीयवासीको सहजताका लागि बनेका केही ठूला भौतिक सरचनाहरूलाई प्राकृतिक प्रकोपका कारण पूर्णरुपमा क्षति हुन गएकोले यी संरचना वडा पालिकाले मात्र निमार्ण गर्न असम्भव भएको बुढीगङ्गा नगरपालिका वडा नं –२ का वडाध्यक्ष हीरा थापाले बताउनुभयो ।
वडा अध्यक्ष थापाले भन्नुभयो, ‘यसका लागि जिल्लास्थित अन्य सम्बन्धित निकायसँग सहकार्य गरेर सोही ठाउँमा केही समयपछि अर्को नयाँ पुल निर्माण कार्यका लागि योजना बनाइएको छ ।’  गोरखापत्र

Facebook Comments Box