गतिरोध अन्त्यका विषयमा दुई अध्यक्षबीच छलफल : भोलि स्थायी कमिटी बैठक बस्ने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा गतिरोध अन्त्यका विषयमा दुई अध्यक्षबीच छलफल भएको छ ।

अध्यक्षद्वयबीचको भेटवार्तापछि अब भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी बैठकमा बाँकी विषयमा छलफल हुनेछ ।

स्थायी कमिटी बैठकअघि फेरि पनि अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गर्नेछन् । अहिलेसम्म सहमतिका लागि ठोस प्रगति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ ।

बिहान ११:३० देखि दिउँसो २:०० बजेसम्म अध्यक्षद्वयबीच ‘वान टु वान’ वार्ता भएको हो । त्यसअघि नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग छलफल गरेका थिए । प्रचण्डसँग खुमलटार र ओलीसँग बालुवाटारमा उनले सहमतिका एजेण्डाका विषयमा छलफल गरेका स्रोतले जनाएको छ ।

अध्यक्षद्वयबीच सोमबार पनि झण्डै साढे दुईघन्टा वान टु वान छलफल भएको थियो । मदन जयन्तीको दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा आफ्नो पार्टीका नेताहरु लागेका आरोप लगाएका थिए ।

त्यसपछि स्थायी कमिटीका धेरै सदस्यहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर अ‍ोलीले दुवै पदबाट राजीनामा नदिने बताइसकेका छन् ।

Facebook Comments Box