अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः मुखमा मास्क लगाउन बाध्य भए

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी, असार २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मुखमा मास्क लगाउन बाध्य भएका छन् ।

कुनै हालतमा मास्क नलगाउने जिद्दीमा रहेका राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका हुन् ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड सैनिक अस्पतालमा भेट्रानहरुलाई भेट्न जाने क्रममा उनी कालो रंगको मास्क लगाएर पुगेका थिए ।

कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिन मास्क लगाउनै पर्ने जनस्वास्थ्य विज्ञ र वैज्ञानिकहरुले पटक पटक भन्दा पनि अवज्ञा गर्दै आएका ट्रम्पले अमेरिकामा कोभिड–१९ बाट एक लाख ३७ हजार मानिसको मृत्यु भएपछि मास्क लगाउन बाध्य बनेका हुन् ।

अमेरिकामा साढे ३३ लाख मानिस संक्रमित भइसकेका छन् ।
मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘मलाई लाग्छ मास्क लगाउनु उत्कृष्ट कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ ।’

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले सबैलाई बाहिर निस्कँदा मास्क वा रुमालले मुख छोप्न निर्देशन नै जारी गरेको छ ।

Facebook Comments Box