छ दिनपछि अध्यक्षद्वयबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल

खवर पाटी (खोज खबरको अभियान)
काठमाडौँ, असार ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको छ । छ दिनपछि भएको दुई अध्यक्षबीचको वार्तालाई नियमित वार्ता भनिएको छ । यसअघि गत बुधबार दुई अध्यक्षबीच छलफल भएको थियो । सोपछि आज मङ्गलबार भएको हो । दिउँसो १२ बजेदेखि शुरु भएको वार्ता करिब डेढ बजेसम्म चलेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीलाई भेटन अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियो । साउन २ गतेसम्मका लागि स्थगित गरिएको नेकपा स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच विवादित विषयमा सहमति हुने विश्वास गरिएको छ । सोही सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीचको वार्ता र संवाद जारी छ ।
यसअघि गत शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै संवाद र छलफलबाटै पार्टीको आन्तरिक विवाद समाधान हुने विश्वास दिलाउनुभएको थियो ।
त्यसको भोलिपल्ट शनिबार पुगेर अर्का अध्यक्ष प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगर्ने बताउनुभयो । दुई अध्यक्षबीचको अभिव्यक्तिले वार्ता सहमति नजिक पुगेको सङ्केत मिलेपनि ठोस सहमति भइनसकेको स्थायी कमिटीका सदस्यहरूको अनुमान छ । स्थायी कमिटी बैठकअघि केही न केही विषयमा ठोस सहमति गर्ने विश्वास नेताहरूले गर्नुभएको छ । 
Facebook Comments Box