धनगढी, साउन २ । बाह्रसिङ्गाका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालमा अति सङ्कटापन्न सुनौलो तोप चरा पाइने एक्लो संरक्षित क्षेत्र बनेको छ । अरु संरक्षित क्षेत्रमा यो प्रजाति देखिन छाडेपछि सुदूरपश्चिमको शुक्लाफाँटा मुलुकमा सुनौलो तोप चराको एक्लो थलो बनेको हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन)ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ । नेपाल र भारतमामात्रै पाइने यो चरा नेपालका लागि भने अति सङ्कटापन्न सूचीमा रहेको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट दशक अगाडि नै हराएको सुनौलो तोप चरा हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताउनुभयो । ‘नेपाल र भारतमामात्रै पाइने यो चरा नेपालको लागि हाल शुक्लाफाँटामा मात्रै छ’, उहाँले भन्नुभयो । ‘कोशीटप्पुमा सन २००७ बाटै देखिएको छैन ।’
शुक्लाफाँटाको सिकारी ताल, सिंहपुरफाँटा, मोहनपुर, अण्डैया, पट्टैयाफाँटा र दरख घाँसे मैदानमा सुनौलो तोप चराको बसोबास रहेको छ । यसको हरेक वर्ष अनुगमन गर्ने गरिएको पौड्यालले बताउनुभयो ।
सुनौलो तोप चरा शुक्लाफाँटामा रहेको बारेमा सबैभन्दा पहिले चराविज्ञ डा. हेमसागर बरालले पत्ता लगाउनुभएको थियो । सन १९९६ मा आफ्नो विद्या वारिधिको लागि अनुसन्धान गर्न शुक्लाफाँटा पुग्नुभएका उहाँले सुरुमा ११ वटा सुनौलो तोप चरा देख्नुभएको थियो । त्यसपछि, सन २००८ मा बरालले नै सुनौलो तोप चराले सिकारी तालको आसपासमा गुँड लगाउने गरेको तथ्य पत्ता लगाएको पौड्यालले सुनाउनुभयो ।
‘नेपालमा सुनौलो तोप चराले ब्रिडिङ गर्ने ठाउँ पनि शुक्लाफाँटा मात्रै हो’, उहाँले भन्नुभयो । ‘मे देखि सेप्टेम्बरसम्म सुनौलो तोप चराले गुँड लगाउने, बच्चा हुर्काउने कार्य गर्दछ ।’ शुक्लाफाँटामा पाइने सुनौलो तोप चराको तथ्याङ्क व्यवस्थित गर्ने प्रयास आफूहरूले गरिरहेको पौड्यालको भनाइ छ ।
सुनौलो तोप चराको सङ्ख्या नेपाल, भारत दुवै देशमा निकै कम रहेको पक्षी संरक्षण सङ्घ नेपाल (बीसीएन) ले जनाएको छ । नेपालमा यो वर्ष करिब १०० को हाराहारीमा सुनौलो तोप चरा रहेको सो संस्थाका कार्यकारी प्रमुख इशाना थापाले बताउनुभयो ।
उहाँका अनुसार सन २०१७ मा ३०० र २०१९ मा १७४ जति तोप चरा नेपालमा पाइएको छ । यो चराको विस्तृत अध्ययन गर्न बाँकी रहेको थापाले बताउनुभयो । नेपाल, भारत दुवै देशमा यसको सङ्ख्या घटिरहेकाले विश्वमै अति सङ्कटापन्न सूचीमा लैजाने कि भनेर छलफल चलिरहेको उहाँको भनाइ छ ।
नेपालमा छातीकाले, धर्के, बया र सुनौलो गरी चार प्रजातिका तोप चरा पाइने गरेको जनाइएको छ । जसमध्ये सुनौलो तोप चरा तराई क्षेत्रमामात्रै पाइने गरेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँले शुक्लाफाँटामा पाइने सुनौलो तोप चराको संरक्षण र अनुगमन निकुञ्ज कार्यालय र बीसीएनले संयुक्त रुपमा गर्दैआएको उल्लेख गर्नुभयो ।
प्रकृतिमाथि मानवीय हस्तक्षेप बढ्दै जानुले यो चराको अस्तित्व खतरामा परेको छ । प्राकृतिक बासस्थानको विनाश, कृषिमा विषादीको बढ्दो प्रयोग जस्ता कार्य सुनौलो तोप चरा विनाशको प्रमुख कारण रहेको डङ्गौराले बताउनुभयो ।
नेपाल–भारत सीमानजिक पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४५० प्रजातिको चराको बसोबास रहेको छ । जसमध्ये विश्वमै दुर्लभ २३ प्रजाति र नेपालका लागि अति सङ्कटापन्न ७४ प्रजाति रहेका छन् । गोरखापत्र