राजविराज, साउन ५ । पछिल्लो दुई दिन यता अविरल वर्षासँगै सप्तरीको सप्तकोसी, खाँडो, बलान, महुली, जीता लगायतको नदीमा आएको बाढीले दुई सय भन्दा बढी घर परिवार प्रभावित भएको छ ।
खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वार्ड नम्बर १ बेल्हीका ५०, वार्ड नम्बर ४ र ५ कोइलाडी र बरझुलाका एक सय घरमा पानी पसेको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । बस्तिमा बाढी पसेपछि उठिवासको अवस्था भएको उहाँले भन्नुभयो, खाँडोमा बाढीले खतरा तह पार गरिसेको थियो । तर, अहिले बाढी कम भएको छ । अझै पानी सतह बढेमा ती बस्तीका वासीहरुलाई उच्च स्थानमा सार्नु पर्ने उहाँले बताउनुभयो ।
खाँडो नदीमा आएको बाढीले खतरा तह पार गरेपछि तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरा स्थित खाँडो नदीको तटबन्धका स्परमा कटान सुरु भएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले भन्नुभयो, बाढी कम भएपछि बाँधमा कटान पनि कम भएको छ । खाँडोको बाढीले बनरझुुला, कोइलाडी लगायत तीन/चार स्थानमा सडकमा क्षति पु-याएको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका स्थित सप्तकोसी नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर सप्तकोसीको बाढीले डुवानमा परेको छ । यसैगरी राजविराज नगरपालिका वार्ड नम्बर २, ५ र ६ का बस्तिमा वर्षाको पानी पसेपछि जलमग्न भएको छ । त्यस्तै जिल्लाको बलान, खडक, महुली, जिता नदीमा बाढी चाप उच्च रहेको छ । नदी आसपासका बस्तिमा पानी पसेको बताइएको छ ।
यता यसअघि नै जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबगाढा बस्तिमा सप्तकोसी नदीको बाढी पस्दा ७५ परिवार बिस्थापित भएका थिए । प्रहरीको सहयोगमा ती परिवारहरुलाई उद्धार गरी उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा राखिसकेको वडा अध्यक्ष बिन्देश्वर यादवले जानकारी दिनुभयो ।
जिल्लाको विभिन्न बस्ति जलमग्न भएपनि खतरा आइनपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बाढीको कारण आउन सकिने संकट व्यवस्थापनका लागि सुरक्षाकर्मीहरु राहत, उद्धारका सामग्रीसहित तयारी अवस्थामा रहेको सप्तरी प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिनुभयो ।
सप्तकोसीमा वहाव कम
चुरे तथा पहाडी क्षेत्रमा वर्षा कम भएको कारण सप्तकोसी नदीमा बहाव कम रहेको बताइएको छ । कोसी ब्यारेजमा एक लाख ४१ हजार क्वूसेक प्रति प्रतिसेकेन्ड पानीको वहाव मात्र रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कोसीमा पानीको वहाव कम रहेकोले १९ वटा ढोका मात्र खोलेको बताइएको छ ।
जिल्लाका अन्य नदीहरुमा पानीको बहाब बढेपछि सो क्षेत्रका बस्तिका बासिन्दाहरु त्रसित भएका छन । नदीहरुको बहाब खतरामुक्त रहेको भएपनि सर्तकता अपनाएर बस्न स्थानीय प्रशासन, जिल्ला संकट व्यवस्थापन समितिले सर्वसाधारणलाई आग्रह गरिससकेको छ ।
धानवाली डुवानमा
लगातार वर्षाले सयौं विगहा धानबाली डुवानमा परेको छ । जिल्लाको सकरपुरा, रम्पुरा मलहनिया, तिलाठी, हनुमाननगर लगायतका स्थानमा रोपा डुवानमा परेको छ । धानवली डुवानमा पर्दा गलेर नोक्सान हुने कृषकहरु बताउँछन । गोरखापत्र