काठमाडौं, साउन ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक विवाद समाधानकाे प्रयास जारी रहेको बताउनुभएको छ । सोमबार विहान पूर्व नेकपा (माओवादी केन्द्र) का नेताहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
खुमलटार निवासमा पूर्व माओवादीका स्थायी कमिटी सदस्य तथा अन्य नेताहरुलाई बोलाएर अध्यक्ष प्रचण्डले अहिलेसम्म भएको सहमतिको प्रयास, सचिवालय र दुई अध्यक्षबीचको छलफल र उपलब्धीका बारेमा घण्टौं छलफल गर्नुभएको पूर्व माओवादीका नेताहरुले बताउनुभएको छ । तर बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग मन्त्री लेखराज भट्ट भने काम विशेषले व्यस्त रहनुभएकाले उपस्थिति नरहेको स्रोतले बतायो ।
नेकपा संसदीय दलका प्रमुख सचेतक तथा स्थायी कमिटी सदस्य देव गुरुङले विहान भेला भएपनि अहिलेसम्म भएको सहमतिको प्रयासबारेमा अध्यक्ष प्रचण्डले व्रिफिङ मात्र गर्नुभएको जानकारी दिनुभयो । “बैठक भएपछि अध्यक्षज्यूको कुरा सुन्ने र लागेको सुझाव दिने काम त भइहाल्छ नै, तर मूलतः वार्ता र बैठकमा भएका सहमतिको उपलब्धी र अवस्थाबारेमा प्रष्ट पार्नेकाम अध्यक्षज्यूले गर्नुभयो” नेता गुरुङ्ले भन्नुभयो ।
अध्यक्ष निवासमा हरेक दिनजसो नेताहरुको भेटघाट हुनु सामान्य भएको बताउनुहँुँदै नेता गुरुङ्ले दुई अध्यक्षबीचको सहमतिको प्रयासलाई सकारात्मकरुपमा लिंदै पार्टी एकतालाई कायम राख्दै सहमति गर्न सुझाव दिइएको बताउनुभयो । “पार्टीभित्र केही समस्या देखिए पनि सहमति जुटाउने प्रयास जारी छ, सहमति गरेरै अगाडि बढिन्छ” अध्यक्ष प्रचण्डले बैठकमा नेताहरुलाई भन्नुभएको गुरुङले जानकारी दिनुभयो । मिडियामा आएकोजस्तो पदको लागि आफू सहमति गर्न लागेको कुरा गलत भएको बताउनुहँदै अध्यक्ष प्रचण्डले अहिले देश र जनताको हितलाई नै ध्यान दिएर आफू काम गरिरहेको बताउनुभएको थियो ।
पार्टीमा गम्भीर समस्या उत्पन्न भएपनि त्यसको व्यवस्थापन गरेर अगाडि बढ्ने विश्वास अध्यक्ष प्रचण्डले नेताहरुलाई दिलाउनुभएको थियो । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्डबीच नियमितरुपमा बालुवाटारमा सहमतिका लागि वार्ता र संवाद भइरहेको छ । दुई अध्यक्षबीच सहमति कायम गर्न सहज होस् भनेर पार्टीको स्थायी कमिटी बैठक पटक पटक सारिएको छ । भोलि ६ गते ११ बजेका लागि पनि स्थायी कमिटी बैठक आव्हान गरिएको छ । सो अघि दुई अध्यक्षबीच सहमति हुने विश्वास नेताहरुले लिनुभएको छ ।