बाढी पहिरोबाट अघिल्ला दस वर्षको तुलनामा धेरै मानवीय क्षति

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गत ३० जेठबाट सुरु मनसुनका कारण प्राकृतिक विपत्तिका घटनामा परी हिजो मंगलबारसम्म देशभर १ सय १७ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष मनसुन सुरु भएको पहिलो महिना अघिल्ला दस वर्षको तुलनामा धेरै मानवीय क्षति भएको छ । जसअनुसार गत ३० जेठयता हिजो मंगलबारसम्म पहिरोका कारण देशभर १ सय १४ जनाको मृत्यु भएको छ भने बाढीका कारण तीन जनाले ज्यान गुमाइसकेका छन् । पहिरोमा ४६ बेपत्ता र मंगलबार साँझसम्म ९१ जना घाइते भएका छन् ।

बाढीभन्दा पहिरोबाट धेरैको मृत्यु
३८ दिनमा ११७ निधन

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार यसपटक मनसुन पहिलो महिना पहिरोबाट भएको मानवीय क्षति एक दशककै उच्च हो । गत वर्ष मनसुन पहिलो महिना पहिरोमा ३३ जनाले जनाले ज्यान गुमाएका थिए । २०७५ मा १०, २०७४ मा २३ तथा २०७३ मा १९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, २०७२ सालमा मनसुन पहिलो महिना पहिरोबाट १३, २०७१ मा १७, २०७० मा २९, २०६९ मा १७, २०६८ मा ३८ तथा २०६७ मा प ि३८ जनाकै ज्यान गएको थियो ।

कार्यकारी प्रमुख पोखरेल मनसुनका कारण यस वर्षको पहिलो महिनामा धेरै क्षति व्यहोर्नुपरेको बताउ“छन् । ‘पछिल्ला केही वर्षको मनसुनको पहिलो महिना हेर्दा यस वर्ष राम्रो संकेत देखिएन,’ उनले राजधानीसित भने, ‘पहिलो महिनामै पहिरोबाट धेरै मानवीय क्षति हुन पुगेको छ ।’

मनसुन पहिलो महिनामै धेरै क्षति हुनु ‘प्रि–मनसुन’मा भएको भारी वर्षा मानिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसवर्ष ‘प्रि–मनसुन’मा मुलुकका धेरै स्थानमा औसतभन्दा बढी वर्षा भएको छ ।

मनसुनअघिको एक महिनाको रेकर्डअनुसार धनगढीमा १७६.३ मिलिमिटर वर्षा भएको छ । त्यहाँ हुनुपर्ने औसत वर्षा ७८.९ मिलिमिटरमात्रै हो । त्यस्तै, पोखरामा २५९.२ मिलिमिटर वर्षा हुनुपर्नेमा ४६६.९८ र सिमरामा १३०.९ मिलिमिटर वर्षा हुनुपर्नेमा २०२.७ मिलिमिटर वर्षा भएको छ ।

नेपालमा वर्षभर हुने करिब ८० प्रतिशत वर्षा मनसुनमा हुने गरेको छ । प्राधिकरणले नेपालमा मनसुनी प्रभाव सक्रिय रहने समय सय दिनलाई मान्दै आएको छ ।  राजधानी

Facebook Comments Box