जसपा पार्टी एकीकरण : कार्यकारणी समिति चयन, नेता कार्यविभाजन अझै हुन सकेन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पार्टी एकीकरण भएको तीन महिना बित्दासमेत जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण गर्न सकेको छैन । शीर्षनेतालाई कमिटीमा रहने नेता छनोट गर्न सकस परेकाले संगठन निर्माणमा ढिलाई भएको हो ।
गत १० वैशाखमा रातारात पार्टी एकीकरण भएको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच संगठन समायोजन समान्ताका आधारमा गर्ने सहमति भएको थियो ।

संगठनको नाममा जसपाको ५१ सदस्यीय कार्यकारणी समिति छ । जसमा पाँच सदस्य पदाधिकारी रहेको छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो गरी पाँच पदाधिकारी छन् ।

पदाधिकारी, संसदीय दल नेता, मर्यादाक्रम, जिम्मेवारी बाँडफाँडलगायत विषयमा सहमति हुन सकेको छैन

पदाधिकारी र कार्यकारणी समिति चयन गरिए पनि नेता कार्यविभाजन अझै हुन सकेको छैन । जिम्मेवारी बाँडफाँडदेखि पार्टीको अन्य समिति गठन विषयमा शीर्षनेता आन्तरिक गृहकार्यमै छन् । जसपा कार्यकारणी समिति सदस्य रामसहाय यादवले शीर्षनेताबीच जिम्मेवारी बाँडफाँडदेखि संगठन निर्माण विषयमा छलफल भइरहेको बताए । कोरोना भाइरस, बाढीपहिरोलगायत समस्याका कारण संगठन निर्माणमा ढिलाई भए पनि अब बाँकी काम छिट्टै टुंगो लाग्ने उनको दावी छ ।

‘शीर्षनेता आन्तरिक गृहकार्यमै हुनुहुन्छ, विभिन्न समस्या एवं महामारीका कारण केही ढिलाई भएको हो,’ यादवले भने, ‘हामी छिट्टै जिम्मेवारी बाँडफाँडदेखि संगठनका अन्य कामलाई पूर्णता दिएर अघि बढ्ने प्रयासमा छौं ।’

शीर्षनेताबीच जसपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति भएको छ । यसमा कुनै विवाद नभएको जसपा स्रोतको दावी छ । संघीय परिषद् १ हजार १ सय १ सदस्य रहने विषयमा समेत सहमति जुटिसकेको छ ।

१ हजार १ सय १ को संघीय परिषद्, ७ सय ५१ सदस्यीय केन्द्रीय समिति, १ सय १ सदस्यीय राजनीति समिति बनाउन शीर्षनेताबीच गृहकार्य भइरहेको छ । तत्कालीन समाजवादीमा २५ पदाधिकारी र ४ सय ३१ केन्द्रीय सदस्य थिए । तत्कालीन राजपामा पदाधिकारी संख्या १ सय ३५ र केन्द्रीय सदस्य ८ सय रहेको बताइएको छ ।

विभिन्न समय उपेन्द्र यादव, डा. भट्टराई, अशोक राईले नेतृत्व गरेको दलसहित अन्य साना दलबीच एकीकरणपछि समाजवादी पार्टी संगठन राजपाभन्दा दुरुस्त छ । तर, तत्कालीन ६ मधेसवादी पार्टी मिलेर बनेको राजपा नेपालको संगठन केन्द्रदेखि तलसम्म भद्रगोल अवस्थामा छ । केन्द्रीय संरचनाअनुसार नै तलसम्म राजपा संगठन भएकाले समायोजनमा केही ढिलाई भएको छ ।

त्यस्तै, पार्टी केन्द्रीय तहका अन्य निकाय सल्लाहकार, विज्ञपरिषद्, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोगका साथै पार्टीका विभाग, प्रदेश परिषद्, प्रदेश समिति, पहिचानमा आधारित प्रादेशिक संरचना, प्रदेश सल्लाहकार समिति, प्रदेशविज्ञ परिषद्, प्रादेशिक आयोग, गैरभगोलिक विशेष प्रदेश समितिलगायत स्थानीय तहका संरचना टुंगो लगाउन अझै बाँकी छ । यी प्रक्रिया पूरा गरेर जसपा महाधिवेशनमा जान्छ । तर, महाधिवेशन कहिले गर्ने, सिद्धान्त, विचारलागयत विषयमा अझै केही टुंगो लागेको छैन ।

जसपा कार्यकारणी समिति सदस्य महेन्द्रराय यादवले अझ धेरै कुरा मिलाउन बाँकी नै रहेको स्वीकारे । टुंगो लागेको केन्द्रीय कार्यकारणी समितिलाई नै पूर्णता दिन बाँकी रहेको उनी बताउ“छन् । उनका अनुसार कार्यकारणी समितिले पूर्णता पाएपछि बैठक गर्ने र अन्य संरचना टुंगो लगाउनेतर्फ काम हुनेछ ।

‘धेरै काम अहिले बाँकी छ, कार्यकारणी समितिलाई नै पूर्णता दिन बाँकी रहेकाले अन्य काम हुन नसकेको हो,’ यादवले भने, ‘हामी छलफलमै छौं, छिट्टै संगठन निर्माणलाई पूर्णता दिनेछौं ।’

पार्टी संरचना निर्माणका साथै शीर्षनेताको जिम्मेवारी बाँडफाँडमा किचलो रहेको बताइएको छ । पदाधिकारी, संसदीय दल नेता, मर्यादाक्रम, जिम्मेवारी बाँडफाँडलगायत विषयमा सहमति हुन नसकेको जसपा नेता बताउँछन् ।

जसपाका एक नेताका अनुसार अहिले मुख्य समस्या शीर्षनेताको जिम्मेवारी बाँडफाँडदेखि मर्यादाक्रम निर्धारण नै हो । कार्यकारणी समितिमा रहेका नेताको जिम्मेवारी बाँडफाँड हुनेबितिकै बाँकी काम आफै टुंगो लाग्दै जाने स्रोतको दावी छ ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्तालगायत पदाधिकारी आवश्यकताअनुसार टुंगो लगाउने बताइएको छ । विभिन्न समय विभिन्न पार्टीबीच एकीकरण गर्दै अहिलेको जसपा निर्माण भएकाले धेरै कुरा मिलाउनुपर्ने दबाब शीर्षनेतालाई छ ।

जसपा कार्यकारणी समिति सदस्य प्रकाश अधिकारीले निर्देशिका निर्माणदेसख अन्य काम टुंगो लगाउने विषयमा शीर्षनेता आन्तरिक तयारीमा रहेको बताए । जिम्मेवारी बाँडफाँडदेखि पदाधिकारी चयनका साथै अन्य संगठनका संरचना निर्माणलगायत छिट्टै हुने विश्वास उनले व्यक्त गरे ।

Facebook Comments Box