रसियाले आउँदो महिना कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि उपलब्ध गराउने दावी

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । कोरोना भाइरसको बढ्दो संक्रमणसंगै यसको निदानका लागि भ्याक्सिन विकास लागि पनि विश्वभर प्रतिस्पर्धा जस्तै अवस्थाको सिर्जना भएको छ । यो प्रतिस्पर्धाले कोरोना संक्रमित विरामीको उपचारका लागि छिट्टै भ्याक्सिन उपलब्ध हुने आशालाई मर्न दिएको छैन ।

यहि सन्दर्भमा रसियाले आउँदो महिना कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि उपलब्ध गराउने दावी गरेको छ । कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्ने काममा चीन, ब्रिटेन र अमेरिका जस्ता मुलुकहरु जोडतोडका साथ लागिरहंदा रुसको यो दावीले सबैलाई अचम्ममा पनि पारेको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै आम सर्वसाधारणका लागि उपलब्ध हुने खुलासा गरेका हुन । मध्य रुसको येकान्तेरिन्बर्गको यात्राका क्रममा उनले यस्तो बताएका हुन ।

उनका अनुसार तेस्रो अर्थात अन्तिम चरणको मानव परीक्षण अघि नै आम सर्वसाधारणका लागि भ्याक्सिन उपलब्ध हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै रशियन डायरेक्ट ईन्भेस्टमेन्ट फंड (आरडिआइएफ) का कार्यकारी अधिकारी किरिल दिमित्रिवले बताए अनुसार दुई थरिका भ्याक्सिनहरुको अनुशन्धान भैरहेको छ ।

अगस्तमा गरिने अन्तिम चरणको मानव परीक्षणमा हजारौं स्वयं सेवकहरुलाई सहभागी गराइनेछ । जस अनुसार ३ अगस्त देखि भ्याक्सिनको अन्तिम परीक्षण सुरु गरिंदैछ । यो परीक्षण रुसका अलावा साउदी अरबमा पनि हुनेछ ।

दिमित्रिवका अनुसार रुसले यस बर्ष भ्यााक्सिनको करिब ३ करोड डोज उत्पादन गर्नेछ । यद्यपी अन्य मुलुकहरुले पनि यसमा चासो देखाएकाले उनीहरुसंगको सहकार्यमा भ्याक्सिनको १७ करोड डोज तयार गर्ने सम्भावना पनि रहेको दिमित्रिवलाई उद्धृत गर्दै लाइभ मिन्ट डटकमले जनाएको छ ।

Facebook Comments Box