काठमाडौं । निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल दोस्रोपटक नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेपको सदस्यसचिवमा नियुक्त गरेको हो ।
६ दशकअघि स्थापना भएको राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्यसचिव नियुक्त भएको हो । यसअघि राखेप सदस्यसचिवको नियुक्ति राजनीतिक आधारमा हुने परम्परा थियो । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित तीन जनाबाट सिलवाल दोस्रोपटक राखेपको १९औं सदस्यसचिवमा नियुक्त भएका हुन् । सिलवाल गत वर्ष २३ असारमा ४ वर्षका लागि राजनीतिक नियुक्तिको आधारमा सदस्यसचिवमा नियुक्त भएका थिए ।
असार तेस्रो सातादेखि नेपाल खेलकुद विकास ऐन लागू भएसँगै पदमुक्त भएको २४ दिनपछि सिलवाल नै पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् । अब उनी चार वर्ष राखेपको सदस्यसचिवका रूपमा रहनेछन् । १० असारमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट खेलकुद विकास ऐन प्रमाणित भएको एक सातापछि अर्थात् १७ असारमा सदस्यसचिव सिलवालसहित राखेप बोर्ड नै खारेज भएको थियो । त्यसपछि राखेपको इतिहासमा नै पहिलोपटक सदस्यसचिवका लागि खुला आह्वान गरिएको थियो । विभिन्न पाँच मापदण्ड तोक्दै सदस्यसचिवका लागि २७ जनाको उम्मेदवारी परे पनि दुई जना अयोग्य ठहरिँदा सिफारिस समितिले २५ जनाबाट एक महिलासहित तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो ।
निवर्तमान सदस्यसचिव सिलवालसँगै नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्वउपाध्यक्ष लीलबहादुर थापामगरको नाम सिफारिस गरेको थियो । मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवाल, श्रेष्ठ र थापाको नाम गत बुधबारै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारलाई सिफारिस गरेका थिए । मन्त्रालयले बुधबार नै क्याबिनेटमा राखेप सदस्यसचिवको सिफारिस दर्ता गराएको थियो ।
नयाँ ऐनअनुसार विगतमा सदस्यसचिवमा रहेको एकल अधिकार अब सात जनाको कार्यकारी समितिले प्रयोग गर्नेछ । त्यस्तै, राखेप बोर्ड ३७ जनाको रहनेछ ।
हालसम्मका सदस्यसचिव
१. स्व. होराप्रसाद जोशी (२०१५–२०१६)
२. सुशीलशम्शेर जबरा (२०१७–२०२४)
३. स्व. खड्गविक्रम शाह (२०२४–२०३४)
४. स्व. शरदचन्द्र शाह (२०३४–२०४५)
५. स्व. इन्दुबहादुर सिंह (२०४५–२०४६)
६. स्व. युद्धविक्रम शाह (२०४६–२०४८)
७. स्व. राजबहादुर सिंह (२०४८–२०५०)
८. रुक्मशम्शेर जबरा (२०५०–२०५१)
९. केशव स्थापित (२०५१–२०५२)
१०. शरदकुमार भट्टराई (२०५२–२०५३)
११. बद्रीनाथ श्रेष्ठ (२०५३–२०५३)
१२. जीवनराम श्रेष्ठ (२०५३–२०५४)
१३. रुक्मशम्शेर जबरा (२०५४–२०५५)
१४. विनोदशंकर पालिखे (२०५५–२०५९)
१५. किशोरबहादुर सिंह (२०५९–२०६३)
१६. जीवनराम श्रेष्ठ (२०६३–२०६६)
१७. हरिबाबु चौधरी (२०६६–२०६८)
१८. युवराज लामा (२०६८–२०७२)
१९. शकुन्तला नगरकोटी (२०७२ निमित्त –२०७२)
२०. केशवकुमार विष्ट (२०७२–२०७६)
२१. रमेशकुमार सिलवाल (२०७६–२०७७)
२२. भक्तबहादुर ढकाल (२०७७ कार्यवहाक – २०७७)